काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधि सभा सदस्य विनीता कठायतले वर्तमान सरकारले भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको बताएकी छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सरकारले मानव तस्करीजस्तो जघन्य कुकृत्यलाई मौलाउन दिइरहेको पनि बताइन् ।
‘भ्रष्टाचार र कुशासनमा कीर्तिमान नै कायम गरेको यो सरकारले मानव तस्करीजस्तो जघन्य कुकृत्यलाई मौलाउन दिएको कलङ्क पनि भोग्दैछ,’– उनले भनिन् ।
साथै भिजिट भिसा प्रकरण छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग वा संसदीय समिति आफ्नो पार्टीको माग रहेको पनि उनले बताइन् । भिजिट भिसा प्रकरणमा अब मित्र राष्ट्रहरुको पनि चासो बढाएको उनको भनाइ छ ।
यस्तै उनले निजामती सेवा विधेयकको कुलिङ पिरियडमा एमालेले छेडखानी गरेको हुनसक्ने बताइन् । एमालेले आफ्ना पार्टीप्रति बफादार व्यूरोक्रेटलाई संवैधानिक निकायमा भर्ती गर्नका लागि कुलिङ पिरियड राख्न हुँदैन भनिरहेको पनि उनले बताइन् । ‘यो देशका संवैधानिक निकायहरु बफादार ब्यूरोक्रेट भर्ति गर्ने थलो हो ? कम्तीमा दुई वर्ष कुलिङ पिरियड राखौं भन्दा नेकपा (एमाले) ले मात्रै राख्न पर्दैन भन्नुको कारण चाहिँ के रहेछ ?’ प्रश्न गर्दै उनले भनिन् ।











प्रतिक्रिया