तत्काल समस्या समाधान गर



त्रिविमा दुई पदाधिकारी ‘बाइकट’ हुँदा विद्यार्थीसँग जोडिएका सबै काम रोकिएका छन् । विद्यार्थीको क्रेडिट ट्रान्सफरदेखि सयौँ विद्यार्थीको समकक्षता रोकिएको छ । समकक्षता रोकिँदा विदेश अध्ययन गर्न जाने विद्यार्थीको बिचल्ली भएको छ । उपकुलपति प्राडा दीपक अर्यालले समेत दुई पदाधिकारी मिलाउन सकेका छैनन् । शिक्षाध्यक्षको कारण धेरै विद्यार्थीले विदेशी विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति पाउँदासमेत समकक्षता प्रमाणपत्र पाउन सकेका छैनन् ।

आफ्नै पहलबाट पाएको अवसर पनि शिक्षाध्यक्षको गैरजिम्मेवारीपनका कारण गुमाउनुपर्ने अवस्था आएको छ । शिक्षाध्यक्षको कारणले गर्दा विदेश जाने प्रक्रियामा रहेका विद्यार्थीले सुनौलो अवसर गुमाउने खतरा बढेको छ ।तीन महिने उपकुलपतिको जिम्मेवारी छाडेपछि फेरि शिक्षाध्यक्षको पदमा फर्केका खड्ग केसी र रजिस्टार केदार रिजाललाई विद्यार्थी, प्राध्यापक आबद्ध संघ–संगठन एवं कर्मचारीले फेरि कार्यालयमा प्रवेश गराउन रुचाएका छैनन् ।

सबै संघ–संगठनले उपकुलपतिले स्वतन्त्ररुपमा दुई पदाधिकारी नियुक्त गर्न पाउनुपर्ने बताएका छन् । अघिल्ला उपकुलपति प्राडा केशरजंग बरालको कार्यकालमा नियुक्ति भएका दुई पदाधिकारीको कारण त्रिवि अस्तव्यस्त बन्न पुगेको छ । त्यस बेला नियुक्ति भएको उपकुलपतिले राजीनामा दिएपछि उनीहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने दबाब बढेको छ । तर दुई पदाधिकारी ज्यान गए पनि राजीनामा दिने पक्षमा छैनन् ।

अर्थात् जस्तोसुकै परिस्थिति आए पनि बाहिरै बसेर पद जोगाउने पक्षमा छन् । शिक्षाध्यक्षको कारण प्राज्ञिक परिषद्को बैठक बस्न सकेको थिएन । बुधबार उपकुलपतिको कारण बल्ल बैठक बसेको थियो । बैठकले केही महत्वपूर्ण निर्णय गरेको थियो तर समकक्षताको भने निर्णय हुन सकेन । उपकुलपति प्राडा दीपक अर्यालको अध्यक्षतामा बसेको बैठकले केही विषयको पाठ्यक्रम स्वीकृत र ट्रान्सक्रिप्ट दिने बाटो खोलेको छ ।

यसअघि परिषद्को बैठक मिति तय भएर पटक–पटक स्थगित भएको थियो । बैठक बस्न नसक्दा सबै परीक्षा उत्तीर्ण गरिसकेर पनि विद्यार्थीले ट्रान्सक्रिप्ट पाउन सकेका थिएनन् । प्राज्ञिक परिषद्मा अध्यक्ष उपकुलपति, उपाध्यक्ष रेक्टर, रजिस्टार, डिन, निर्देशक रहने व्यवस्था छ । दुई पदाधिकारी कार्यालयमा उपस्थित नहुने तर विश्वविद्यालयका सुविधाहरु, बैठक भत्ता, सवारीसाधनलगायत सबै सेवा–सुविधा उपभोग गरिरहेका छन् ।

दुई पदाधिकारी कार्यालय नआउँदा परीक्षा र प्रशासनिक कार्यलगायत सबै काम ठप्प छ । सधैँ बाहिर बसेर कति दिन काम चलाउने भन्ने विषय त्रिविमा उठ्न थालेको छ । सबै संघ–संगठनले दुई पदाधिकारीले तत्काल राजीनामा दिएर उपकुलपतिलाई सहज बनाउन माग गरेका छन् ।हुन पनि कार्यालयमा नै आउन नसक्ने अवस्थामा पुगेका दुई पदाधिकारीलाई कि त कार्यालयमा हाजिर गराउने वातावरण बनाउनुपर्‍यो, होइन भने राजीनामा दिएर त्रिविलाई सहजरुपमा सञ्चालन गर्न सहयोग गर्नुप¥यो । सधैँ अनिर्णयको बन्दी बनाएर राख्दा त्रिविको साख गिर्न सक्छ । मुलुककै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्न कुलपति एवं प्रधानमन्त्री केपी ओली र सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तले तत्काल पहल गर्नुपर्छ । समस्या समाधान गर्न हातेमालो गर्नुपर्छ ।