काठमाडौं ।
नेपाली एथलेटिक्स क्षेत्रका पुराना हस्तीहरू र हिमालयन रनिङ क्लबको संयुक्त आयोजनामा प्रथम खुल्ला अन्डर डिस्टेन्स दौड २०८२ प्रतियोगिता साउनको अन्तिममा हुने भएको छ ।
आयोजकका अनुसार प्रतियोगिता आगामी साउन ३० गते काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगिता नेपाली एथलेटिक्सको विकास, खेलाडीको शारीरिक तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि र नयाँ प्रतिभाको पहिचान गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । प्रतियोगितामा पुरुष र महिला दुवैका लागि ६० मिटर, १५० मिटर, ३५० मिटर र ६०० मिटर गरी छुट्टाछुट्टै चार–चार विधामा दौड समावेश गरिएको छ । एक व्यक्तिले केवल एक विधामा मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
देशभरिका खेलाडीहरूलाई खुला रुपमा सहभागी गराउने लक्ष्य राखिएको यस प्रतियोगितामा सहभागिताका लागि साउन २४ गतेसम्म दर्ता गर्नुपर्नेछ । दर्ता शुल्क ५ सय रुपैँया तोकिएको आयोजकले बताएका छन । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक विधामा पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार यस्तो किसिमको प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै लैजाने योजना रहेको छ, जसबाट युवा खेलाडीहरूको स्तरवृद्धि मात्र नभई एथलेटिक्स खेलको लोकप्रियता बढाउने दीर्घकालीन लक्ष्य पूरा हुने विश्वास गरिएको छ । प्रतियोगिताले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली रूपमा प्रस्तुत हुन सहयोग पुर्याउने अपेक्षा आयोजकको छ ।











प्रतिक्रिया