रसुवा जिल्लाको नौकुण्ड गाउँपालिका वडा नम्बर १ सिम्बन्दीका स्थानीय युवक थोक्रा, जसले गाउँमा नै ५२ वटा चौँरी पालेका छन् र गाउँभरिबाट ४ सय लिटर दूध संकलन गर्छन् र भन्छन्– विदेश मेरा लागि यही हो ।
सिम्बन्दी गाउँभन्दा ८ सय मिटरमाथि ती युवकले सिम्बन्दी दूध डेरी फार्म खोलेको ६ वर्ष भयो । उनी १२ वटा गोठबाट दूध संकलन गर्छन् र लिटरको १ सय देखि १ सय २० रुपियाँसम्म कृषकलाई पैसा दिन्छन् । त्यो दूध र आफ्नो गोठको दूध मिसाएर उनी छुर्पी, चीज, नौनी बनाएर सप्लाइ गर्छन् । सबै खर्च कटाएर वार्षिक ५ लाख बचाउँछन् उनी ।
सामान्य परिवारमा जन्मिएका उनका आफूसरहका कतिपय साथी विदेश गएका छन् । कोही बरालिएर हिँडेका छन् त कोही शहर पलायन भएका छन् । तर उनी बाउबाजेले गरेको चौँरीपालनलाई निरन्तरता दिएर बसेका छन् । यहीँ पैसा कमाउँछु र परिवारसँग रमाउँछु भन्छन् उनी ।चौँरी पालनका साथै सिजनमा आलु, काउली, बन्दा, सागलगायत गोलभेँडा लगाएर पनि उनी १ देखि २ लाख रुपियाँ बचत गर्छन् ।
गाउँका युवायुवती आजभोलि पैसा कमाउने धुन र सुख काट्ने निहुँमा विदेश जान्छन् । कतिपय शहरमा पनि बस्छन् । तर आफूचाहिँ गाउँको लेकतिर व्यवसाय गरेर पैसा कामाउनेतिर लागेको बताउँछन् युवक थोक्रा । चौँरी पालन व्यवसायमा केही छैन, केही हुँदैन भन्ने सोच राखेका ती युवक एक लगनशील कृषकमा पर्दछन् ।











प्रतिक्रिया