इंग्ल्यान्ड युरो कपको फाइनलमा


लन्डन, (एजेन्सी)

स्वीट्जरल्यान्डमा जारी युईएफए महिला युरो कप फुटबल प्रतियोगितामा इंग्ल्यान्डले नाटकीय रुपमा जित निकाल्दै फाइनलको यात्रा तय गरेको छ ।
मंगलवार राति सम्पन्न पहिलो सेमिफाइनलमा इंग्लिस टोलीले इटालीमाथि २–१ गोलअन्तरको रोमाञ्चक जित दर्ता गर्दै उपाधि नजिक पुगेको हो । खेल सुरु भएदेखि नै दवाब बनाएको इंग्ल्यान्डले धेरै अवसर सिर्जना गरे पनि अग्रता भने इटालीले लिएको थियो ।

३३औं मिनेटमा बार्बरा बोनानसीले गरेको गोलले इटालीलाई १–० को अग्रता दिलायो । त्यो अग्रता लगभग खेलको अन्त्यसम्म कायम रहँदैं गर्दा इटाली जीतको नजिक पुगेको थियो । तर, इन्जुरी समयको छैटौं मिनेटमा मिचेल्ली एगेम्याङले निर्णायक क्षणमा गोल गर्दै इंग्ल्यान्डलाई खेलमा पुनः जीवित राखिन् ।
९० मिनेटको निर्धारित समय १–१ मा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश ग¥यो । दुवै टोलीले गोलका लागि कडा संघर्ष गरे तापनि अन्तिम क्षणमा खेलको नतिजा इंग्ल्याण्डको पक्षमा गयो । अतिरिक्त समयको अन्त्यतिर इंग्ल्यान्डले पेनाल्टी पायो ।

क्लो केलीको प्रहार इटालीकी गोलकिपरले जोगाउन सफल भइन् । तर, रिबाउन्ड बलमा केलीले सहजै गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाइन् । यो जितसँगै इंग्ल्यान्ड युरो कपको फाइनलमा पुग्न सफल भएको छ ।