नागरिकतामा आमाको नाम अनिवार्य लेख्नु पर्ने

11.84k
Shares

उदयपुर । 

देशमा महिला अधिकार कर्मीहरुले आमाको नामबाट पनि नेपाली नागरिकका छोराछोरीले नेपाली नागरिकताको प्रमाणपत्र पाउनु पर्ने आवाज उठाएर सरकारसँग माग गरिरहेका  समयमा जिल्ला प्रशासन कार्यालय उदयपुरले नागरिकता कालागि वडा कार्यालयले सिफारिस गर्दा आमाको नाम अनिवार्य लेख्नु पर्ने भनी सम्बन्धित पालिका र वडामा परिपत्र जारी गरेको छ ।

नागरिकको आवाजलाई सम्बोधन गर्ने र सुशासन तथा सर्वसुलभ रुपले नागरकहरुलाई सेवा प्रदान गर्न नागरिक गुनासो तथा आवाज सम्बोधन आवश्यक भएको ठानेर सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय उदयपुरले नयाँ अभ्यास सुरु गरेको हो । 

उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले आमाका नामबाट नागरिकता जारी भएका छन् । कतिपय नागकितामा अदालतको आदेशानुसार आमाकोनाम लेखेर दिइएको छ । तर कतिपय वडा कार्यालयले सिफारिस गर्दा आमाको नाम नराखिकन सिफारिस गर्ने गरेको पाइएको छ । कतिपयले भने आमाको र बाबु दुबै को नाम राखेर सिफारिस गर्ने गरेको बताए । 

आमाका नामबाट नागरिकता वितरण भएको तर वडाको सिफारिसमा कतिपयले आमाको नाम नलेख्ने गरेकोले चेतना फैलाउन जिल्लाका आठबटै पालिकाको सबै वडामा परिपत्र जारी गरेर  सिफसिमा अनिवार्य आमाको नाम लेख्न भनिएको प्रजिअ लुइँटेलले बताए ।

नेपाल नागरिकता नियमावली २०६३ को अनुसूची १ बमोजिम नगर तथा गाउँपालिकाका वडाहरुले नयाँ नागरिकताकालागि सिफारिस गर्दा तोकिएको अनुसूची बमोजिमको पुरा विवरण भरेर नआउने गरेकोले नागरिकतामा आमाको नाम लेख्न छुट्ने गरेको छ । सिफारिसमा आमाको नाम लेख्नु पर्ने महलमा खाली आउने गरेको जानकारी दिंदै प्रजिअ लुइँटेलले अबदेखि जिल्लाका आठबटै पालिकाका वडा कार्यालयबाट नागरिकताकालगि आउने अनलाइन नयाँ नागरिकता अनुसूची फारमहरुको सिफारिसमा आमाको नामको महलमा आमाको नाम लेख्न र पूर्ण विवरण भरेर पठाउन पत्राचार गरिएको बताए ।

नागरिकता लिनकोलागि सनाखत गर्न आउने व्यक्तिले आफ्नो र आमाको सक्कल नागरिकतासहित आवश्यक पर्ने सम्पूर्ण कागजात सहित आउनु पर्ने र झुठो विवरण दिएमा कारबाही हुने प्रावधान कानुनमा रहेको छ ।

अनुसूची अनुसारको सबै विवरण भर्दा नागरिकतामा बुवा, आमाको नाम उल्लेख हुने र भविष्यमा आइपर्ने अन्य काम जस्तै नाता प्रमाणित गर्न वा अन्य काममा पनि सहजता हुने भएकोले अनुसूचीको विवरण पुरा भरेर पठाउन पत्राचार गरिएको प्रजिअ लुइँटेलले बताए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले यही साउन १ गतेबाट नेपाली नागरिकता लिनेहरुलाई सनाखतपछि नागरिक प्रतिबद्धता स्वघोषणा गराएर नागरिक प्रतिको जिम्मेवारी बहन गराउने नयाँ कायको थालनी गरेको थियो ।