नेकपा एमालेभित्र फेरि एकपटक विचार, नेतृत्व र हैसियतको बहस शुरू भएको छ । र, यो क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुन हुन्छ कि हुन्न भन्ने बहस चर्किंदो छ । एमाले पार्टीमा अहिले दुई धार देखिएको छ । उहाँलाई सक्रिय राजनीतिमा ल्याएर पार्टीमा स्थापित गर्ने कि नगर्ने भन्नेमा । राष्ट्रपतिबाट अवकाश लिएसँगै लामो मौनतामा रहनुभएकी भण्डारीको पछिल्लो सक्रियता र एमालेका कार्यक्रमहरूमार्फत् देखिएको पुनःप्रवेशले उहाँमा आगामी दिनमा पार्टी नेतृत्व लिने मनशाय देखिन्छ । उहाँले विभिन्न अन्तर्वार्तामा यो कुरा उल्लेख पनि गर्नुभएको छ । भण्डारीको आगमनलाई कतिपयले स्वागत गरेका छन् भने कतिपयले शंकाको दृष्टिले हेरेका छन् । गणतन्त्रमा राष्ट्रपतिजस्तो सर्वोच्च निकायमा पुगिसकेको व्यक्ति फेरि राजनीतिमा आउँदा त्यसले गणतन्त्रको गरिमा बढ्नुको साटो उल्टै घट्ने विश्लेषण पनि गरिएको छ । पार्टीभित्र भण्डारीको भूमिका र औचित्यमाथि प्रश्न उठाउँदै केही नेताहरू उहाँ सक्रिय राजनीतिमा फर्किन नहुने जिकिर गरिरहेका छन् । तर, यथार्थ के हो भने, भण्डारी आफैं पार्टीको इतिहास, संघर्ष र निर्माणमा महत्वपूर्ण भूमिका भएकी व्यक्ति हुनुहुन्छ । उहाँले फेरि फर्केर पार्टीको सेवा गर्छु भन्दा रोक्नु जायज हुँदैन भन्ने विश्लेषण पनि भइरहेको छ । नेकपा एमालेको महिला आन्दोलनदेखि लिएर सशक्त राजनीतिमा उहाँको योगदान अवमूल्यन गर्नु पनि हुँदैन भन्ने विश्लेषण पनि छ ।
वर्तमानमा एमालेभित्र दुई प्रवृत्ति देखा परिरहेका छन्, ओली विरोधी र विद्या विरोधी कित्ता । दुःखद् पक्ष के छ भने, यी दुवै प्रवृत्तिले पार्टी एकता र भविष्यको संगठनात्मक संरचनामा गम्भीर असर पार्न सक्छ । हुन त यसअघिका राष्ट्रपति डा. रामवरण यादव पनि राजनीतिमा आउन सक्नुहुन्थ्यो तर उहाँले त्यसको इच्छा गर्नुभएन । पूर्व राष्ट्रपति भण्डारीले भने इच्छा व्यक्त गर्नुभयो । यो आ–आफ्नो रुचि र चाहनाको विषय भएकाले यसलाई भने धेरै विवादको विषय बनाउनु उपयुक्त नहोला ।
। ओलीको कुनै बेला आफ्नै विश्वास पात्र रहेकी व्यक्तिलाई कहिले ‘संविधानले बोल्न दिँदैन’ भन्ने, कहिले ‘पार्टीमा काम गर्न नहुने’ भन्ने अभिव्यक्तिहरू दिनुलाई भने राम्रो मान्न सकिँदैन । यद्यपि, केही दिनअघि उहाँहरूबीच भएको भेटमा दुवै पक्ष मिलेर अगाडि जाने विषयमा पनि छलफल भएको विषय बाहिर आइरहेका छन् । त्यसैले भण्डारीले राजनीतिमा आउने इच्छा व्यक्त गरिसकेकाले अब पार्टीले यस विषयमा उचित निर्णय गर्नु जायज हुनेछ । विवादको विषय बनाउँदा भोलि पार्टी फेरि फुट्न सक्ने भएकाले पनि यसको समाधान असल नियतका साथ गर्नुपर्छ ।
पार्टी एकताका नाममा संस्थापन पक्षले घेराबन्दी गर्नुहुँदैन । भोलिका दिनमा भण्डारीको पुनः सक्रियताले एमालेलाई बेफाइदा हुने देखिँदैन । यो अवसर बन्न सक्छ, यदि नेतृत्वले स्वीकार गर्न सक्छ भने । भण्डारीसँग संगठन चलाउने अनुभवमात्र होइन, राष्ट्रिय राजनीतिमा निर्णायक उपस्थितिको योग्यता पनि छ । उहाँ संस्थागत निर्णय र अनुशासनमा विश्वास गर्ने नेतृ हुनुहुन्छ, जुन कुरा राष्ट्रपतिको भूमिकामा रहँदा बारम्बार देखिएको थियो । पार्टी एकताको नाममा भण्डारीजस्ता नेतृलाई घेराबन्दी गर्न खोजियो भने त्यो पार्टीको लागि क्षति हुन सक्छ । जनताले वैकल्पिक राजनीतिक अनुहार खोजिरहेका छन् । र, त्यो अनुहार भण्डारी बन्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । यद्यपि, भोलि उहाँले पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । लोकतान्त्रिक पद्धतिअनुसार नै भोलिका दिनमा पार्टीको नेतृत्वमा आउने चाहना भण्डारीको हो भने त्यसमा प्रतिस्पर्धा गर्न दिनुपर्छ । ढोका बन्द गर्नुहुँदैन ।











प्रतिक्रिया