सेयर कारोबारमा ठगी प्रकरण: २२नम्बर ब्रोकर र लगानीकर्ता अग्रवालमध्ये कस्ले ठग्यो ?


काठमाडौं।

सेयर बजारमा ठगी र अनियमितताको विषय यतिबेला चर्चामा छ । विवादास्पद लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ पर्नु तथा ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिजका सञ्चालकहरूलाई पक्राउ पुर्जी जारी हुनु र उनीहरू फरार रहेको भन्ने खबर बाहिएपछि सेयर बजारमा ठगी, धोकाधडी र अनियमितताको विषय चर्चामा आएको हो ।

प्रारम्भिक अनुसन्धानमा अग्रवालमाथि २२ करोड रुपियाँभन्दा बढी ठगी गरेको आरोप लागिरहेको छ । साथै उनले साना पुँजीका कम्पनीहरूको सेयर कृत्रिम रूपमा मूल्य बढाउने (कनर्रिङ गर्ने), दर्जनभन्दा बढी टीएमएस खाताबाट बारम्बार खरिद–बिक्री गरी बजारमा चलखेल गर्ने, सामाजिक सञ्जालमार्फत् साना लगानीकर्तालाई दिग्भ्रमित पर्ने जस्ता गतिविधि गरेको आरोप लाग्दै आएको छ ।

गत असार १ गते धनुषाका दिनेशप्रसाद शाहले अग्रवालविरुद्ध ६ करोड ४५ लाख ठगीको उजुरी दिएपछि प्रहरीले अग्रवालसहित उनकी पत्नी सीता मुरारका अग्रवाल र दिदी ज्योति अग्रवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, त्यसको एक महिनापछि मात्रै उनी पक्राउ परेका हुन् । तर, उनकी श्रीमती र दिदी भने पक्राउ परेका छैनन् । यस्तै असार ९ गते अग्रवालकी पत्नी सीताले २२ नम्बर ब्रोकर कम्पनी सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध ठगीको उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा पनि पक्राउ पुर्जी जारी गरिए पनि अहिलेसम्म ब्रोकर पक्षका कोही पनि पक्राउ परेका छैनन् । प्रहरी स्रोतका अनुसार उनीहरू सबै फरार भएको भनिएको छ ।

अग्रवालले कृत्रिम रूपमा सेयर मूल्य बढाउने, सामाजिक सञ्जालमार्फत ‘फलानो कम्पनीको मूल्य यति पुग्छ’ भन्दै अफवाह फैलाउने तथा ब्रोकरेज कम्पनीहरूलाई तिनुपर्ने रकम नतिर्ने गरेको आरोप पहिलेदेखि नै लाग्दै आएको हो । यसै प्रकरणमा ब्रोकर नम्बर २२ सिप्रवी सेक्युरिटिज पनि जोडिएको छ । उक्त कम्पनीले अग्रवाललाई तिर्नुपर्ने ३३ करोड ७३ लाख रुपियाँमध्ये ९ करोड ७३ लाख धोकापूर्वक नतिरेको आरोप अग्रवाल पक्षको आरोप छ । यी दुई मध्ये दोषी को हो भन्ने किटान गर्न तत्कालै कठिन भए पनि यस प्रकरणले पुँजी बजारमा देखिएको नाङ्गो नाचको पर्दाफास भएको लगानीकर्ताहरू बताउँछन् ।
‘नियमक निकाय कमजोर हुँदा केही ठूला लगानीकर्ता र ब्रोकर कम्पनीको मिलेमतोमा साना लगानीकर्तालाई लुट्ने कार्य भइरहेको छ । त्यसैको हिसाब किताब नमिल्दा अहिले एकअर्का माथिको आरोपप्रत्यारोप भइरहेको हो ।’ सेयर लगानीकर्ता हंसराज श्रेष्ठ बताउनुहुन्छ । यो घटनाले पुँजी बजारको अपारदर्शिता र नियामकको कमजोरी छरपस्ट भएको छ । तर, दुर्भाग्य यसको मूल्य निर्दोष साना लगानीकर्ताले चुकाउनुपर्ने हुनसक्ने श्रेष्ठको भनाइ छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले केही समयअघि नै अग्रवालको कारोबारमा प्रारम्भिक अनुसन्धान थालेको थियो । तर, बहुल खाता सञ्चालन, कृत्रिम कारोबार र अनियन्त्रित सल्लाह दिने सामाजिक सञ्जाल प्रयोगमा समयमै कारबाही नहुनु नियामकको गम्भीर कमजोरीको संकेत हो ।

हालको घटनाले समस्या कुनै एक व्यक्ति वा संस्था मात्रै होइन, प्रणालीमै रहेको स्पष्ट गरेको छ । अनुसन्धानको निष्पक्षता, नियमनको प्रभावकारिता र कानुनी संयन्त्रको विश्वसनीयतामाथि प्रश्न उठेका छन् । पुँजी बजारलाई सुरक्षित, पारदर्शी र भरोसायोग्य बनाउन नियामकीय सुधार, कडा कानुनी कार्यान्वयन र डिजिटल माध्यममार्फत हुने कारोबारको नियमन आवश्यक भइसकेको छ ।