ओलीकै नेतृत्वमा आगामी निर्वाचनमा होमिनुपर्नेमा सबैको जोड


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को नवौं केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा एमाले आगामी निर्वाचनमा सशक्त रूपमा जानुपर्नेमा जोड दिएका छन् । साथै अधिकांश केन्द्रीय सदस्यले पार्टी सचिवालय र पोलिटब्युरोबाट सर्वसम्मत निर्णय भएर आएको विधान संशोधन प्रस्तावलाई समर्थन गरेका छन् ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्यले अहिले विभिन्न बहानामा एमालेमाथि आक्रमण भइरहेकाले सो आक्रमणविरुद्ध एकजुट भएर प्रतिरोध गर्नुपर्ने र पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

पार्टी अध्यक्ष ओलीको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।बैठकको शुरूमा अध्यक्ष ओलीले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

पहिलो दिन केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, सूर्य पाठक, रामशरण बस्नेत, ईन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देललगायतले आ–आफ्नो धारणा राखेका थिए ।
त्यसक्रममा केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताउनुभयो ।
केन्द्रीय सदस्य पहारीले अध्यक्ष ओलीको नेतृत्वमा एमालेले मिसन ०८४ मा बहुमत ल्याउनुपर्ने बताउनुभयो ।