साम्बालाई चिन्दै हेटौंडा


हेटौंडा।

‘देश चिनाउनेसँग हाम्रो चिनजान’ नाम दिइएको हेटौंडामा आयोजना गरिने एक विशेष कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई हेटौंडेली खेलप्रेमीहरुले नजिकबाट चिन्न अवसर पाउने भएका छन् ।

साबित्राले हासिल गरेका उपलब्धिका कारण उनले नेपाली फुटबललाई दक्षिण एसियाबाट बाहिर पु¥याएर चिनाउने काम गरेकी हुनाले उनको प्रयास बुझ्न, चुनौतीका पहाड जान्न र नजिकबाट साक्षात्कार गर्न विशेष कार्यक्रम तय गरिएको हो ।

उनलाई साउन १७ गते आयोजना गरिने कार्यक्रमका नगद ५० हजारसहितले सम्मान गर्नका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् र खेलकुदप्रेमी पुरणबहादुर जोशीले प्रायोजन गर्ने निधो भएको छ । सञ्चारिका समूह नेपाल, मकवानपुरले उक्त कार्यक्रम गर्ने भएको हो । खेलप्रेमीको यथार्थपरक योगदानले समाजमा प्रेरणा र सकारात्मक ऊर्जा प्रवाह गरेको छ । ‘यस प्रकारको सहयोगले महिला खेलकुदको सम्मान र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामी पूर्ण विश्वास गर्दछौं,’ सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङले भनिन् ।

साम्बा उनै खेलाडी हुन्, जसले फुटबलमा ‘गोल मेसिन’ को उपमा पाएकी छन् । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनी नेपाली टिमबाट यो कोसेढुंगा पार गर्ने पहिलो खेलाडी हुन् ।

उनले साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि ५० गोल गर्ने कीर्तिमान बनाइन् । पहिलो खेलमा सिरियाविरुद्ध १ गोलमात्र गरेकी साबित्राले दोस्रो खेलमा इराकविरुद्ध सनसनी प्रदर्शन गर्दै ५ गोल गरेर नेपालका लागि ५० गोलको कोसेढुंगा पूरा गरिन् । त्यसपछि उनले प्यालेस्टाइनविरुद्ध २ तथा सेमिफाइनलमा लेवनानविरुद्ध १ गोल गरिन् ।

उनी युरोपेली क्लबबाट फुटबल खेल्नेमात्र नभइ गोल गर्ने पहिलो नेपाली पनि हुन् । २० माघ २०८० मा फ्रेञ्च क्लब एना भाग गुइनगाम्पमा आवद्ध भएकी उनले आफ्नो डेब्यु खेलमै लिलविरुद्ध गोल गरिन् ।

नेपाली लिगमा मात्र नभएर उनले भारतीय महिला लिगमा समेत सर्वाधिक गोल गरेर कीर्तिमानहरु बनाएकी छन् । उनले सन् २०१८–२०१९ को सिजनमा सेथु एफीलाई च्याम्पियन बनाउन १८ गोल र र सन् २०१९–२०२० र २०२२–२०२३ को सिजनमा गोकुलम केरलालाई च्याम्पियन बनाउन क्रमशः १६ र २९ गोल गरेकी छन् ।

सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै साबित्राले नेपालका लागि डेब्यु गरेकी थिइन् । त्यही खेलमा उनले नेपालका लागि डेब्यु गोलसमेत गरिन् । त्यसयता उनले नेपालका लागि लगातार गोल गर्दै आएकी छन् ।

साम्बा न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी क्लबमा अनुबन्ध भएकी छन् । साबित्राले दुई सिजनका लागि वेलिङ्टन फोनिक्ससँग सम्झौता गरेकी हुन् । साबित्रालाई अनुबन्ध गर्न पाउँदा गर्व महसुस भएको क्लबले जनाएको छ । वेलिङ्टन न्युजिल्यान्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ ।

यसअघि साबित्राले फ्रान्सेली क्लब एन अभान्ट गुइनगाम्पबाट दुई सिजन खेलेकी थिइन् । उनले भारत र माल्दिभ्समा पनि खेलिसकेकी छन् । साबित्राले गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै सहकार्यका लागि धन्यबाद दिएकी छन् ।