हेटौंडा
जीवन–मरणको दोसाँधमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त २ सञ्चालक सदस्यका लागि दरखास्त आह्वान गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आइतबार सूचना जारी गर्दै सञ्चालक सदस्य खुला प्रतिस्पर्धाबाट पदपूर्ति गरिने जनाएको छ ।
इच्छुक र योग्य नेपाली नागरिकले सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र अर्थात् साउन १० गते कार्यालय समयभित्र सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । आवेदकको उमेर दरखास्त दिने अन्तिम मितिसम्म ३० वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
सरकारी स्वामित्वका उद्योग, कलकारखाना ठप्प पार्ने र निजीक्षेत्रका व्यवसायीलाई सुम्पने खेल उक्त उद्योगमा पनि सल्किएको छ । उद्योगको वार्षिक उत्पादन क्षमता प्रतिदिन ७ सय २२ टन हो । तर, क्षमताभन्दा कम परिमाणमा सिमेन्ट उत्पादन गरेका कारण उद्योगले सञ्चालन खर्च धान्न नसकेर बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । उद्योगले कम परिमाणमा क्लिंकर उत्पादन भएकाले बन्द गर्नुपरेको तर्क गरेको छ ।
उद्योगसँग पैसा नभएकै कारण कोइला किन्न नसक्नु र पुराना मेसिनरी, उपकरण बारम्बार बिग्रिरहने कारण नियमित उद्योग चलाउन सकिएको छैन । उद्योग पूर्णक्षमतामा सञ्चालन गर्न हेटौंडा सिमेन्टले सरकारसँग १ अर्ब ९ करोड मागेको थियो । तर, सरकारले उल्टै निजीकरणको सूचीमा हालिदियो ।
सिमेन्टले आव २०७४-०७५ मा १६ करोड ३६ लाख नाफा कमाएको थियो । उद्योग आर्थिक वर्ष २०७५-०७६ देखि निरन्तर घाटामा छ । आव २०७५-७६ मा उद्योग १ करोड ५ लाख घाटामा गयो । आव २०७५-०७६ मा २० लाख ८६ हजार ६ सय ६७ बोरा सिमेन्ट बेचेको उद्योगले १ अर्ब ६४ करोड आम्दानी गरे पनि १ अर्ब ६५ करोड खर्च गरेको थियो । २०७६-०७७ मा उद्योगले १४ लाख ५५ हजार ९ सय ६ बोरा सिमेन्ट बेचे पनि २३ करोड ८२ लाख घाटामा गयो । २०७७-७८ मा १८ लाख ५३ हजार ७ सय ६४ बोरा सिमेन्ट बेच्दा पनि १७ करोड ४ लाख घाटा बेहोरेको हो । २०७८÷०७९ मा १० करोड ६९ लाख घाटा बेहोर्दा १६ लाख १३ हजार ९ सय ६४ बोरा सिमेन्ट बेचेको थियो । उद्योगले २०७९÷०८० मा साढे २५ करोड घाटा बेहोरेको थियो ।
ओरालो यात्रा सुरु भएको हेटौंडा सिमेन्ट उद्योग पूर्णक्षमतामा चलाउने दाबी उद्योगका अधिकारीहरुले गरिरहेका छन् । हाल विहान र बेलुका गरेर ४-४ घण्टा उद्योगमा बत्ती काटिएको बताइएको छ । समयमै विद्युत् महसुल तिरेको भए प्राधिकरणले लाइन काट्ने थिएन ।
उद्योग व्यवस्थापन समिति अध्यक्ष नरेन्द्र भण्डारीले आन्तरिक स्रोतबाट भए पनि कर्मचारीको तलबभत्ता व्यवस्थापन गर्ने र जसरी हुन्छ उद्योग सञ्चालनमा ल्याएरै छाड्ने गरी काम गरिरहेको बताए । हाल उद्योगमा १ सय ६८ कर्मचारी छन् । २०३३ सालमा स्थापना भएको उद्योगले २०४३ सालदेखि सिमेन्टको व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
उद्योगको अवस्था दयनीय बन्दै गएपछि उद्योगका कामदार कर्मचारी नेकपा (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गुहार्दै काठमाडौं पुगेका छन् । दिनप्रतिदिन उद्योग धरासयी बन्दै गएका कारण उद्योगको समस्या समाधानको पहल गर्न माग गर्दै कामदार कर्मचारीको दौडाहा भएको हो । उद्योगमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिले प्रचण्डलाई पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भेट गरी उद्योगका समस्या र माग समेटिएको ध्यानाकर्षणपत्र बुझाएका छन् ।












प्रतिक्रिया