वैदेशिक रोजगारीको लोभमा ठगिएका सविनको १५ लाखभन्दा बढी रकम फिर्ता

9.68k
Shares

रामेछाप ।

वैदेशिक रोजगारीको लोभमा परेर ठगिएका रामेछाप नगरपालिका–७ का सविन मोक्तानले १५ लाख ५० हजार रुपैयाँ फिर्ता पाएका छन् । न्युजिल्याण्ड पठाइदिने भन्दै आफ्नै छिमेकी (परिचय खुलाउन नमानेको) ले ठगी गरेका थिए । रकम लिएर फरार बनेका ती व्यक्ति सम्पर्क विहीन भएपछि मोक्तानले सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रको सहयोग लिएका थिए। 

पीडित मोक्तान आप्रवासी स्रोत केन्द्रमा पुगेपछि केन्द्रले प्रारम्भिक जानकारी लिँदै आवश्यक कागजात सङ्कलन गरेको थियो। त्यसपछि पीडितको तर्फबाट औपचारिक उजुरी तयार पारेर जिल्ला प्रशासन कार्यालय रामेछापमा दर्ता गरिएको स्रोत केन्द्रका परामर्शकर्ता जितबहादुर तामाङले जानकारी दिए ।

प्रशासन कार्यालयले उजुरी दर्ता गरेसँगै जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानको क्रममा ठगी गर्ने छिमेकीलाई ल्याई दुवै पक्षबीच छलफल गरिएको थियो । छलफलपछि मेलमिलाप गर्ने सहमति जुट्दै ठगी गरिएको सम्पूर्ण रकम फिर्ता गरेको परामर्शकर्ता तामाङले जानकारी दिए ।