म्याग्दी।
म्याग्दीको प्रमुख तथा प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा आज (सोमबार) बिहानैदेखि श्रद्धालु, भक्तजनहरुको भीड लागेको छ । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर शिवालयमा यसवर्ष साउन महिनाको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट आएका भक्तजनहरुले पूजाआजा गरेका हुन् ।

आज साउन महिनाको पहिलो सोमबार म्याग्दी, पर्वत, बागलुङ, कास्की, चितवन, गोरखा, धादिङ, दाङ, काठमाडौंलगायत जिल्लाहरुबाट गलेश्वर शिवालयको दर्शन तथा पूजाआजा गर्न भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनहरुलाई लक्षित गरेर विभिन्न २३ वटा उपसमितिहरु गठन गरी उनीहरुलाई सहज रुपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको छ ।

यसपटक साउन महिनामा चारवटा सोमबार परेको भए पनि गाउँघरमा खेतीपातीको काम सकेर प्रचण्ड गर्मी र वर्षायामको समयका बाबजुद भक्तजनहरु गलेश्वर शिवालय पुगेका छन् । यसवर्ष साउनको पहिलो सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाहरुबाट करिब १५ हजारको हाराहारीमा भक्तजनहरु आएर गलेश्वरधाममा पूजाअर्चना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । साउने सोमबार हिन्दु महिलाहरूको लागि विशेष दिन मानिन्छ ।

आफ्नो मनोकांक्षासहित परिवारमा सुख, शान्तिको कामना गर्न गलेश्वर शिवालयको दर्शन गर्न आएको महिला उद्यमी मन तुलाचनले जानकारी दिनुभयो । आजको दिन महिलाहरू ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पुजाअर्चना गर्ने गर्दछन् । देशैभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि खासगरी ब्रतालु महिलाको भीड लागेको छ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ ।

सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिलाहरू बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिनालाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि लिने गरिएको पाइन्छ । गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धाराहरु समेत जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले गौमुखी धारामा स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा पछिल्लोपटक भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, कर्मचारी परिचालनलगायत विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्धारका रुपमा रहेको गलेश्वरधाम पश्चिम नेपालको पशुपतिनाथको नामले समेत परिचित छ । हिन्दु धर्मग्रन्थहरुका अनुसार भगवान शिवले सतिदेवीको मृत शरिर बोकेर पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वर आइपुग्दा सतीदेवीको गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको किम्बदन्ती छ ।

गलेश्वरमा जडभरत ऋषिले तपस्या गरेको ओढार पनि रहेको छ । हरेक वर्षको साउन महिनाको सोमबार, बालाचर्तुदर्शी र महाशिवरात्रि पर्वको अवसरमा यहाँ विशेष पूजाआजा हुुनुका साथै दैनिक पूजाआजा र दर्शन गर्न सकिन्छ । कालीगण्डकी नदी किनारमा एउटै विशाल नौ रोपनी क्षेत्रफलमा फैलिएको शिलामाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । एउटै विशाल शिलामाथि शिवालय, राधाकृष्ण लगायतका मन्दिर, पानी कहिल्यै नसुक्ने तलाउ र शिवलिङ्गलगायत यहाँका आकर्षण हुन् ।











प्रतिक्रिया