सर्लाही प्रहरीमा काण्डै काण्ड

18.52k
Shares

रौतहट। 

एक महिना यता सर्लाही जिल्लाको प्रहरी वृत्तमा एक पछि अर्को काण्डै काण्डका घटना सार्वजनिक भएका छन्  । जिल्लाका विभिन्न प्रहरी कार्यालय र चौकीका प्रहरी प्रमुखको संलग्नतामा देखिएको तस्करी, अनियमितता र लापरबाहीका घटनाले प्रहरी प्रशासनको भूमिकामा प्रश्न चिन्ह खडा भएको छ । शान्ति सुरक्षा, राजश्व वृद्धि, सीमा सुरक्षाभन्दा पनि प्रहरीको भूमिका कमाऊ केन्द्रित रहेको पाइएको छ ।

 गत असाढ १६ गते इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक किशोर तामाङ्गको प्रतिबेदनको आधारमा जिल्ला अदालत मलङ्गवामा बुझाएको अभियोग पत्रमा समावेश एक प्रतिवादीको बयानले प्रहरी निरीक्षक तामाङ्गको कार्यमा शंका उब्जेको हो । ०८१ चैत्र २४ गते सर्लाही जिल्ला हरिवन नगरपालिका वडानम्बर ३ मोहनपुरटोलको सडकमा यात्रारत ना २४ प ६९०३ नम्बरको सबार मोटरसाईलकका चालक मान बहादुर घिसिङ्गबाट ७ सय थान ओनेरेक्ससहित लागु औषध प्रहरीले बरामद गरेको थियो। तर, जिल्ला अदालत मलङ्गवामा पेश गरेको अभियोग पत्रमा ४ सय ५८ बोतल उल्लेख गरेको देखिएपछि सो प्रकरणमा गम्भीर शंका उब्जिएको हो ।

 उक्त मुद्दाका  प्रतिवादी सर्लाही हरिवन नगरपालिका वडानम्बर ३ डाबरीटोल निबासी ३७ बर्षिय मानबहादुर घिसिङ्गले अदालती बयानमा आफू  केबल भरिया मात्र भएको र यसका मालिकसहित बरामद लागुऔषध प्रहरीले लुकाएको दाबी गरेपछि प्रहरी निरीक्षक किशोर तामाङमाथि  अनियमितताको आारोप लागेको हो । प्रहरी निरीक्षक तामाङले  सुराकी संगको संलग्नतामा कम परिणाममा अदालतमा लागुऔषधको विवरण देखाएको आरोप समेत रहेको छ । उनीमाथि मधेश प्रदेश प्रहरी कार्यालयबाट छानबिन भइरहेको स्रोतले जनाएको छ । 

प्रहरी निरीक्षक तामाङ लाई प्रहरी प्रधान कार्यालय काठमाडौँले जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा गर्दै उनको स्थानमा प्रहरी बृत बौध्दका प्रहरी निरीक्षक चन्द्र अधिकारीलाई सरुवा गरेको छ । यस्तै असाढ २० गते जिल्ला प्रहरी कार्यालय मलङ्गवाका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का र मधेश प्रदेश सभाका पूर्व सदस्य एबम जनता समाजावादी पार्टीका मधेश प्रदेश अध्यक्ष अशोक यादव बीचको शान्ति सुरक्षा सम्बन्धि बादबिबादको ध्वनि रेकर्ड सामाजिक सञ्जालमा भाइरल भएको थियो । प्रहरी उपरीक्षक खडका लाई मोबाइल फोनमै मधेश प्रदेशका पूर्व सदस्य यादबले तिमिहरु मधेश लुट्न आएको संज्ञा दिदै भएको वादविवादले एक साता देखि सदरमुकाम मलङ्गवा यादब पक्षधरबाट आन्दोलन हुँदै  आएको छ ।

 उता ४ बोरा चिनी, ४ बोरा मटर, लगायतका सामानहरु प्रहरीले बरामद गरेपछि सर्लाही त्रिभुबन नगर निबासी व्यवसायी बबिता र व्रम्हपुरी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादव बीच मासिक रकम बुझाएर पाएको अनुमति समय भित्र बरामद गरेको भन्दै छुटाईदिन गरेको आग्रहको ध्वनि रेकर्ड सार्वजनिक भएको हो । ध्वनि रेकर्डमा सुनिएको संवादले प्रहरी र व्यवसायी बीच कथित मासिक सेटिङ्गमा तस्करी भइरहेको प्रस्ट संकेत देखिन्छ । यस्तै गत २ गते तस्करी गर्न छुट दिए बापत पाउनु पर्ने १८ हजार रकम नपाएपछि इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख एवमं प्रहरी नायब निरीक्षक बैद्यनाथ दासले राजिब भन्ने ब्यबसायीको ३२ वटा बङ्गरा झारिदिने धम्कि दिएको ध्वनि रेकर्ड सामाजिक सञ्जालमा भाईरल बनेपछि उनी उक्त कार्यालयबाट फिर्ता भएका छन् । प्रहरी नायब निरीक्षक दासले व्यवसायी राजिबसंग पुन मोलमलाइ गर्दै सन्तोष पासवानलाई १८ हजार रुपैया र बिबाहमा खरिद गरेको कपडाको ७ हजार रकम दिनु पर्ने भन्दै धम्काएको ध्वनि रेकर्डले सर्लाहीमा भारतीय नाका भएर तस्करी हुँदै  आएको प्रमाणित भएको छ । सीमा नाका भएका सर्लाहीको प्रहरी चौकी मार्फत भएको तस्करीको सेटिङ्गको रकम माथिल्लो तह सम्म पुग्ने गरेको आरोप समेत लागेको छ । 

प्रहरी उपरीक्षक योगेन्द्र खडकाले सार्वजनिक भएका ध्वनि रेकर्डको छानबिन गरी दोषी देखिए कारबाही गर्ने बताएका छन् ।