शैक्षिक–औद्योगिक सहकार्य प्रवद्र्धन गरिने


काठमाडौं ।

नेपाल–भारत उद्योग वाणिज्य संघ र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच शैक्षिक–औद्योगिक सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।

सम्झौतामा संघका अध्यक्ष सुनिल केसी र विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले हस्ताक्षर गर्नुभएको छ । सहमति अनुसार शैक्षिक–औद्योगिक सहकार्य, इन्टर्नसिप तथा रोजगारीको अवसर, संयुक्त अनुसन्धान, ज्ञान आदानप्रदान, संयुक्त प्रकाशन तथा लुम्बिनीलाई विश्व शान्तिको गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ।

समारोहमा प्रा.डा. बज्राचार्यले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक तथा आध्यात्मिक केन्द्र बनाउने आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै २२ हजार विदेशी विद्यार्थी भित्र्याउने लक्ष्यसहितको मास्टर प्लान निर्माण भइरहेको जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्ष केसीले नेपाल–भारत सहयोग विस्तारमा चेम्बरको प्रतिबद्धता दोहोर्‍याउँदै अनुसन्धान, नवप्रवर्तन, पर्यटन प्रवद्र्धन र उद्यमशीलता विकासमा सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । यो साझेदारीले शैक्षिक स्रोत र औद्योगिक अनुभवलाई जोड्दै लुम्बिनीको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।