तम्घासमा व्यावसायिक रुपमै अंगुर खेती

188
Shares

गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा व्यावसायिक रुपमा अंगुर खेती हुँदै आएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–८ खानीगाउँमा प्रकाश भलामीले ८ वर्षअगाडि परीक्षणका लागि लगाएको अंगुरले राम्रो उत्पादन दिँदै आएको छ । आठ वर्षअघि परीक्षणका रूपमा शुरु गरेको अंगुर खेती अहिले सफलतापूर्वक व्यावसायिक स्तरमा विस्तार भइरहेको छ । प्रारम्भमा केही बोट मात्रै रोपेर परीक्षण शुरु गरेका भलामीले अहिले अंगुरबाट राम्रो आम्दानी लिन थालेका छन् ।

हाल भलामीले घरवरपर टनेल निर्माण गरेर अंगुरसँगै तरकारी खेतीसमेत गर्दै आएका छन् । उनका अनुसार यस वर्ष हालसम्म ३५–४० केजी अंगुर बिक्री भइसकेको छ भने केही अझै बिक्री गर्न बाँकी छ । तम्घास बजारमा उनले उत्पादन गरेको अंगुर प्रतिकेजी ३ सय रुपियाँमा बिक्री भइरहेको छ । अर्गानिक, गुलियो र रसिलो भएकाले उपभोक्ताको मागसमेत दिनप्रतिदिन बढ्दो छ ।

अंगुरको लागि आवश्यक तालिम, सीप र प्राविधिक ज्ञानको कमीले यसपालि विगतभन्दा केही उत्पादन घटेको भलामीको भनाइ छ । आवश्यक प्राविधिक सहयोग, तालिम र बजारीकरणको व्यवस्थाले गुल्मी जिल्लामा अंगुर खेतीलाई नयाँ उचाइमा पु¥याउन सक्ने अपेक्षा गरिएको छ । उनको यो प्रयास अहिले अन्य स्थानीय किसानहरूका लागि प्रेरणा बन्दै गएको छ । पछिल्ला केही वर्षयता रेसुङ्गा नगरपालिका क्षेत्रमा अंगुरको खेतीप्रति किसानको चासो बढ्न थालेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।

किसानहरूको चासो बढिरहेको भए पनि आवश्यक तालिम र प्राविधिक ज्ञानको अभावले व्यावसायिक खेतीमा चुनौती देखिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नरेश धितालका अनुसार कृषकले माग गरेअनुसार आगामी वर्षको कार्यक्रममै अंगुर खेतीलाई प्राथमिकता दिने तयारी छ । उनका अनुसार समुद्री सतहदेखि ६०० देखि १५०० मिटर उचाइसम्मको भूभाग अंगुर खेतीका लागि उपयुक्त मानिन्छ । गुल्मीका कालीगण्डकी, सत्यवती, चन्द्रकोट, मुसिकोट, मालिका, मदाने, धुर्कोटलगायतका क्षेत्रमा अंगुर खेतीको राम्रो सम्भावना रहेको उनको भनाइ छ ।

खानीगाउँको माटो र मौसम अंगुर खेतीका लागि उपयुक्त भएको पुष्टि भइसकेको छ । भलामीले प्रयोगमा ल्याएको अंगुरले राम्रो स्वाद र उत्पादन दिएको स्थानीयको भनाइ छ । भलामीका अनुसार अंगुरको बजार माग पनि विस्तार हुँदै गएको छ । यसले गर्दा स्थानीय स्तरमै आय–आर्जनको राम्रो अवसर सिर्जना भएको छ । यसले जिल्लाको कृषि क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

कृषि क्षेत्रमा नयाँ–नयाँ व्यवसायको परीक्षण आकर्षण बढ्न थालेको छ । अंगुरका बिरुवा टनेलभित्र र बाहिर फरक–फरक ठाउँमा लगाएर परीक्षण गरेको उनको भनाइ छ । खुल्ला ठाउँमा लगाइएका भन्दा टनेलभित्र राम्रो फलेको भलामीले बताए । भलामीले झन्डै एक क्विन्टल अंगुर उत्पादन गर्दै आएका छन् ।

अंगुर खेती गुल्मी जिल्लाको लागि नौलो व्यवसाय पनि हो । गाउँघरमा एक–दुईवटा बोट लगाए पनि धेरै परिमाणमा भने अंगुर खेती गरेको पाइँदैन । बजारमा अन्य मुलुकबाट ल्याएको र विषादी राखेको अंगुरको तुलनामा तम्घासमा उत्पादन भएको अंगुर फरक खालको स्वादिलो छ । जिल्लामा अंगुर खेती गर्ने ठूला कृषकहरु नभए पनि खेतीका लागि योग्य क्षेत्र रहेको कृषि ज्ञानकेन्द्र, गुल्मीले जनाएको छ । हिउँदको समयमा बिरुवा तयार गरेर वर्षा याममा (जेठदेखि असार महिनाभित्र) अंगुरको बिरुवा रोप्न सकिन्छ ।