धरमराउँदै  मधेश प्रदेश सरकार 

5.17k
Shares

वीरगञ्ज। 

मधेश प्रदेशको सरकारको नेतृत्व परिवर्तनको संभवना बढेको छ ।  मधेस प्रदेश सरकारबाट नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन फिर्ता लिने तयारी गरेपछि सरकारको नेतृत्व परिवर्तनको संभवना देखिएको हो ।  जनमत पार्टीका सतिश कुमार सिंह नेतृत्वको मधेस सरकारको एक वर्ष पूरा भएको छ । अब त्यहाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ। तर, जनमत पार्टीले सरकार नछोड्ने देखिएपछि कांग्रेस र एमाले दुवैले समर्थन फिर्ता लिने तयारी गरेका हुन् ।

कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण यादवले भने समर्थन फिर्ता लिने परिस्थिति अहिले बनिनसकेको बताए ।  जनमत पार्टीले आफै सरकार छाडेर अर्को दललाई नेतृत्व सुम्पनु उपयुक्त हुने भन्दै उनले यदि त्यस्तो भएन भन्ने मात्र अरु स्टेपमा जाने जानकारी दिए । उनले भने, ’जनमत पार्टीको एक वर्षको कार्यकाल पूरा भएको छ । उसले आफै छोड्नुपर्ने हो । यस विषयमा कुराकानी पनि भइराखेको छ। हेरौँ के हुन्छ ।’काङ्ग्रेस र एमालेका मधेस प्रदेशका नेताहरू अहिले काठमाडौँ आएका छन् । उनीहरू शीर्ष तहमा कुराकानी गरिरहेका छन्।

यता, जनमत पार्टी भने सरकार छाड्ने पक्षमा देखिएको छैन। सो पार्टीका संसदीय दलका नेता महेश यादवले तत्काल सरकार छाड्ने सम्भावना नरहेको र कांग्रेस, एमालेले हल्ला मात्र गरेको बताए । सरकारको कार्यकाल कति रहने भन्नेबारे गठबन्धनमा कुनै छलफल नभएको भन्दै उनले कांग्रेस–एमालेका नेताहरूले आफूखुसी कुरा गरेर सरकारलाई अप्ठ्यारोमा पार्न खोजिरहेको गुनासा गरे । उनले भने  ’यदि त्यस्तो कुनै सम्झौता भएको भए हामीलाई पनि थाहा हुन्थ्यो। तर कांग्रेसलाई मात्रै यो सम्झौताको बारेमा थाहा छ। हामीलाई किन थाहा छैन ? यदि त्यस्तो सहमति भएको छ भने त माथिबाट पनि कुरा आउनुप¥यो।’