प्रहरीसँग जोडिएको तीन ध्वनि रेकर्ड सार्वजनिक, सीमा नाका भएर प्रहरीबाट नै तस्करीलाई प्रश्रय  

17.86k
Shares

रौतहट। 

 पछिल्लो दुई साता यता सर्लाहीमा तीन वटा ध्वनि रेकर्ड सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमध्ये एउटा आर्थिक वर्षको अन्त्यमा प्रहरी प्रमुख र एक पुर्ब प्रदेश सभा सदस्य बीचको चर्काचर्की, अर्को दुई वटा ध्वनि रेकर्ड भने तस्करी गराए बापत प्रहरी चौकीका प्रमुखले पाउने अनधिकृत लाभ र अनुमति समय भित्रै बरामद गरेको राजश्व छलीको सामग्रीका बिषयमा भएको संवाद । तर, तीनै ध्वनि रेकर्ड भने सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ ।

 पहिलो भाइरल बनेको ध्वनि रेकर्ड भने गत असार २० गतेको रहेको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा प्रहरीले सुरक्षा दिएको भन्दै जनता समाजावादी पार्टीका मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालाई मधेशमा तीमीहरु लुट्न आएको भन्दै गरेको चर्काचर्की विवाद सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर, ठिक दुई साता बित्न नपाउँदै सिमाबर्ती र बाटोमा पर्ने नाकाका प्रहरी चौकीका प्रमुखले अवैध सामान ओसार पसार गराए बापत ब्यबसायीसंग अनधिकृत लाभ लिन धम्काएका दुई ध्वनि रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तराई मधेश लाई कमाऊ धन्दा बनाएको पुष्टि हुन पुगेको छ ।

 ४ बोरा चिनी, ४ बोरा मटर, लगायतका सामानहरु प्रहरीले बरामद गरेपछि भारतीय सीमा नाकाबाट ओसार पसारमा अनुमति दिने सर्लाहीको व्रम्हपुरी प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक मनोज यादवलाई त्रिभुवन नगरकी एक महिला ब्यबसायीले जानकारी गराउदा उनले बेवास्ता गरेपछि शनिवार मात्रै ध्वनि रेकर्ड सामाजिक सञ्जालमा सार्वजनिक मात्र हैन भाइरल बनेको छ । ती महिला व्यवसायीको भारतीय सीमा नाकाबाट राजश्व छलीका सामग्री ल्याउन श्राबण ४ गते सम्मको अनुमति रहेपछि त्यस अगावै बरामद भएपछि यस घटना सार्वजनिक भएको हो । 

प्रहरी सहायक निरीक्षक यादव घुमुवा प्रहरीको रुपमा समेत खटिने गरेका छन् । यस्तै अर्को गत २ गते मात्रै तस्करी गराएबापत समयमै अनधिकृत लाभ नदिएको भन्दै सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख एवं प्रहरी नायब निरीक्षक वैद्यनाथ दासले राजीव भन्ने व्यवसायीको ३२ वटा बङ्गरा झारिदिने धम्कि दिएको ध्वनि रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रहरी नायब निरीक्षक दासले पुन ब्यबसायी राजीव संग मोलमलाइ गर्दै सन्तोष पासवान लाई १८ हजार रुपैया दिन र बिबाहमा खरिद गरेको कपडाको ७ हजार रकम दिनु पर्ने भन्दै धम्मकाएका थिए ।

 पछिल्ला दिनमा प्रहरीले तस्करीलाई प्रश्रय दिएका कारण मधेश प्रदेशका भन्सारबाट लक्षित राजश्व रकम उठ्न  सकेको छैन । प्रहरीको आचरण बिपरितका क्रियाकलाप हुन थालेपछि सर्वसाधारणले समेत दुख पाउने थालेका छन् । तीन दिन यता सार्वजनिक भएका ध्वनि रेकर्डमा सुनिएका प्रहरी नायब निरीक्षक वैद्यनाथ दास र प्रहरी सहायक निरीक्षक मनोज यादव दुवै विवादास्पद प्रहरी हुन । उनीहरु दुवै यसअघि निलम्बनमा परिसकेका छन् ।

 सार्वजनिक भएका ध्वनि रेकर्डले खुल्ला सीमा रहेको मधेश प्रदेशको जिल्लाहरुमा भारतीय नाकाबाट तस्करी भैरहेको स्वयम प्रहरी बाटनै पुष्टि हुँदै आएको छ । प्रहरी उपरीक्षक योगेन्द्र खडकाले प्रहरीका सार्वजनिक भएका ध्वनि रेकर्डले छानबिन थालिएको बताए ।