रामेछाप ।
रामेछापमा विकास निर्माणका योजना अलपत्र पार्दै कार्यालयमा ढोका थुनेर बस्ने पूर्वाधार विकास कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुन मगरप्रति स्थानीय आक्रोशित भएका छन् । कार्यालय समयमा सरकारले तोकेको पोसाक समेत नलगाई सेवाग्राहीसँग रुखो व्यवहार गर्ने, तर जिम्मेवारीपूर्वक काम नगर्ने पुनको व्यवहारको विरुद्धमा सर्वसाधारण, राजनीतिक दलका नेता तथा पत्रकारहरूद्वारा कडा आलोचना भइरहेको छ ।
पकरबास–गोगनपानी–गाल्पा सडक, गोगनपानी–गागल सडक, खिम्ती–रस्नालु–ठोसे सडक लगायतका ठूला योजना वर्षौंदेखि अलपत्र परेको स्थानियले बताएका छन् । सम्झौता म्याद सकिँदा पनि कार्यालयले पटक–पटक म्याद थप मात्र गर्ने तर निर्माणमा चासो नदिएको गुनासो छ । वर्षामा हिलो र हिउँदमा धुलो सहन बाध्य स्थानीयले यसअघि पनि कार्यालयमा तालाबन्दी गरेका थिए ।
गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारका अनुसार रस्नालुको बाटो अहिले यातायात नै नचल्ने अवस्थामा पुगेको छ । उनले “ढाँटिएको दुई वर्ष भयो, बाटो झन बिग्रँदै गएको छ,” भन्दै आक्रोश पोखेका छन् । नेपाली कांग्रेस रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीले यस्ता अराजक कर्मचारीमाथि यथाशीघ्र कारबाहीको माग गरेका छन् । कार्यालय समयमा पोसाक नलगाउनु र मर्यादाविपरीत व्यवहार गर्नु गम्भीर विषय हो, उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रका नेता हेमन्त पौडेल निकासले पनि कारबाही नगरे जनआन्दोलन हुन सक्ने चेतावनी दिएका छन् । नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हिमाल ढुङ्गेलले पुनलाई अत्यन्त गैरजिम्मेवार प्रमुखको रूपमा उल्लेख गर्दै आलोचना गरेका छन् ।
पत्रकार नवीन घिमिरेले भने, “केही हप्ता अघि मात्रै उनले सबै पत्रकारलाई मुद्दा हाल्छु भन्दै धम्की दिएका थिए ।” सामाजिक सञ्जालमा समेत पुनको व्यवहार र कामप्रति चर्को आलोचना भइरहेका छन् । लालबहादुर तामाङले फेसबुकमा लेख्दै पुनविरुद्ध आवाज उठाउने पत्रकारहरू असार मसान्तको ‘बार्गेनिङ’ नमिलेको हुनसक्ने टिप्पणी गरेका छन् ।

स्थानीय युवा नेता मदन खड्काले पनि “जनताको मुद्दा लिएर कार्यालय जाँदा पुनले दुर्व्यवहार गरे,” भन्दै कारबाहीको माग राखेका छन् ।
स्थानीय जनप्रतिनिधि, पत्रकार र जनसमुदायको साझा आवाज अनुसार, पूर्वाधार कार्यालय प्रमुखमाथि प्रशासनले यथाशीघ्र अनुसन्धान गरी आवश्यक कारबाही गर्नु पर्ने दबाब बढ्दो छ । यदि चाँडै सुधार नभए, स्थानीय तहमा असन्तोष चर्किने देखिएको छ ।
:











प्रतिक्रिया