रसुवामा भीरबाट खस्दा एक मजदुरको मृत्यु

7.05k
Shares

रसुवा।

रसुवाको आमाछोदिङमो गाउँपालिका–५ स्थित सिनो जलविद्युत आयोजनाको पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट खस्दा एक मजदुरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका–५ पाताङगाङका ४७ वर्षीय सोनाम दोर्जे तामाङ रहेका छन्। उनी साउन २ गते बिहान करिब ९ बजे सिनो जलविद्युत आयोजनाअन्तर्गत पाजुङ कालो डाँडा क्षेत्रमा बाटो र नाली सफा गर्ने क्रममा करिब ४ सय मिटर तल खसेका थिए।

घटनाबारे जानकारी पाउनेबित्तिकै थाम्बुचेत प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले तामाङलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहले जानकारी दिए।

मृत शरीर सिनो जलविद्युत आयोजनाको सवारीमार्फत रसुवा अस्पताल पुर्याइएको र अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।