मुख्य सचिवले झकझकाए सरकारका सबै सचिवहरुलाई

दिए विशेष सुधार योजना समेटिएका १६ बुँदे निर्देशन


-ससाना गल्ती समेत  गर्ने छुट नभएकाले गम्भीर बन्न जोड

-सम्झाए भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति

-नागरिकमा व्याप्त निराशा चिर्नुपर्ने 

-सचिवहरुले राखे समस्या र गुनासा

काठमाडौं। 

सिंगो सरकारको कामकारबाही सोचेअनुसार प्रभावकारी नभएको, सेवा प्रवाह सशक्त बन्न नसकेको, सुशासन कायम हुन नसकेको  र सरकारको कामको परिणाम आउन नसकेको भन्दै मुख्य सचिव एकनारायण अर्यालले सरकारका सबै सचिवहरुलाई सुशासनलाई केन्दविन्दुमा राखेर आगामी दिनमा परिणाम निस्कने गरी काम गर्न कडा निर्देशन दिएका छन् । 

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कामकारबाही अझै प्रभावकारी बनाएर परिणाम निकाल्नुपर्ने र त्यसका लागि कर्मचारी संयन्त्र सशक्त रुपमा परिचालन गर्नुपर्ने निर्देशन दिएलगत्तै मुख्य सचिव अर्यालले मंगलबार साँझ  सरकारका सबै सचिवहरुसँग वृहत छलफल गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा सुशासन कायम गर्ने विषयलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए । मुख्य सचिव अर्यालले सरकारका सबै सचिवहरुलाई विभिन्न  सुधार योजना समेटिएका १६ बुँदे निर्देशन समेत दिए ।
 
  प्रधानमन्त्री ओलीले गत २७ असारमा सरकारका उच्चपदस्थहरुको संलग्नतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५४ औं  बैठकमा विकास निर्माण र विभिन्न आयोजनाहरुले गति लिन नसकेको र सार्वजनिक सेवा प्रवाह पनि प्रभावकारी हुन नसकेको भन्दै गुनासो गरेका थिए । यसै पृष्ठभूमिमा मुख्य सचिव अर्यालकै सक्रियतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी सरकारका सबै सचिवहरुलाई जिम्मेवारी अनुसार काम गरी परिणाम निकाल्न झकझकाएको हो ।

 कतिपय मन्त्रालयका  सचिवहरु नेपाल सरकारको कार्य विभाजन नियमावली २०७४मा उल्लेखित मन्त्रालयको मुख्य जिम्मेवारीबाट च्युत हुने र स्वार्थ केन्द्रित काममा मात्रै लाग्ने गर्दा परिणाम आउन नसकेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विभिन्न खाले गुनासाहरु आउने गरेका छन् । कतिपय मन्त्री र सचिवहरुले उत्कृष्ट कार्य गर्न नसक्दा सरकार प्रति विश्वास जाग्न नसकेको गुनासो  जनस्तरमा समेत व्यापक छ । यस्ता विषयमा पनि मुख्य सचिव अर्यालले सचिवहरुको गम्भीर  ध्यानाकृष्ट गराएका थिए  । ‘मैले निरन्तर भ्रष्टाचार प्रतिको शून्य सहनशीलतामा जोड दिँदै आएको छु। सूचना तथा सञ्चार प्रविधि र सामाजिक सञ्जालमा आम नागरिकको सहज पहुँचले नकारात्मक वा काल्पनिक खवर मात्रै फैलेको छैन, बरु ससाना अनियमितता र भ्रष्टाचारका गतिविधिहरूमा जनताको खबरदारी पनि बढेको छ। त्यसैले पनि हामीले ससाना गल्ती गर्ने पनि छुट छैन।’ मुख्य सचिव अर्यालले सचिवहरुलाई गम्भीर बन्न आग्रह गर्दै भने । 

मुख्य सचिव अर्यालले कार्यसम्पादनका क्रममा ढिलो निर्णय प्रक्रिया वा निर्णय नै नगर्ने प्रवृत्ति, एउटै कामका लागि विभिन्न अड्डामा धाउनु पर्ने अवस्था र सेवा प्रवाहमा भएको असमानता वा ढिलाइले गर्दा जनमानसमा सरकारप्रति नकारात्मकता बढिरहेकाले त्यस्तो अवस्थाको अन्त्य गर्न सचिवहरुलाई निर्देशन दिए  ।
उनले  सरकारले सम्पादन गरेका उदाहरणीय कार्यहरूलाई सर्वसाधारणले बुझ्ने गरी सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याए । ‘विकास र सुशासन नङ्ग र मासुजस्तै एकअर्कामा अन्तरआवद्ध विषय हुन्। “समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने एकमात्र साध्य सुशासन नै हो। जति विकासका लागि सुशासनको आवश्यकता छ त्यति नै सुशासनका लागि विकासको ढाँचामा परिवर्तन गर्नु पनि जरुरी छ।’ मुख्य सचिव अर्यालले भने । 
अर्यालले  सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न एफएटिएफले औंल्याएका विषयमा सबै सम्बद्ध निकायले तदारुकताका साथ काम गर्न आवश्यक रहेको बताए । 

मुख्य सचिव अर्यालले  धेरै कानुन, निर्देशिका, कार्यविधि र प्रकृयाका जन्जालवाट अब मुक्त हुनुपर्ने र यस्ता वाधक कानुनी प्रावधान तत्काल खारेज वा संशोधन आवश्यक रहेको स्पष्ट पारे । ‘तीनै तहका सरकारबाट प्रवाह हुने सार्वजनिक सेवा विश्वसनीय, अनुमानयोग्य र कम खर्चिलो बनाउनु पर्दछ। जनताको नजिकबाट बढी भन्दा बढी सेवा प्रवाह गर्ने व्यवस्था गर्नु पर्दछ।’ मुख्य सचिव अर्यालले सचिवहरुलाई निर्देशन दिंदै  भने ।

 पछिल्ला दिनमा राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बीचमा विश्वासको संकट उत्पन्न भएको छ। यसबाट विकास निर्माणको कार्य र सेवा प्रवाहमा नकारात्मक असर पर्नुका साथै शासनप्रति जनताको आस्था गुम्न जाने भएकाले यसतर्फ सबै प्रशासक तथा कर्मचारीतन्त्र गम्भीर बन्नुपर्ने आवश्यकता उनले औँल्याए । ‘सुधारको कार्यलाई ब्यवहारमा उतार्न कर्मचारीतन्त्रको प्रतिवद्धता, इच्छाशक्ति र सक्रियताको खाँचो छ। यसका लागि सुधार योजना तयार गरौँ। एकापसमा समन्वयलाई बढाऔँ। “समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न, जनविश्वासमा अभिवृद्धि गर्न र यो देशको गरिमा बढाउन हातेमालो गरौँ। हाम्रा भावी पुस्ताले हामीप्रति गर्व गर्ने वातावरण सिर्जना गरौँ।’ मुख्य सचिव अर्यालले सबै सचिवहरुलाई हौस्याउँदै भने । 

 सो कार्यक्रममा सचिवहरुले कार्य सम्पादन गर्दा भोग्नुपरेका समस्या गुनासा तथा सुझावहरु राखेका थिए । सो कार्यक्रममा सार्वजनिक खरिद प्रकृयामा सधैं प्रश्न उठ्ने गरेकोमा कार्यक्रममा विज्ञहरुबाट सार्वजनिक खरिद र सेवा प्रवाहमा प्रभावकारीताका बारेमा भएका प्रस्तुति र कार्यक्रममा सचिवहरुबाट व्यक्त सुझावलाई समेटी  स्टाफ कलेजले संक्षिप्त प्रतिवेदन पेश गर्ने र त्यसलाई  सन्दर्भ सामग्रीको रुपमा लिई शासकीय सुधार आयोगमा छलफलको विषय वनाइने निर्णय गरिएको छ । कार्यक्रममा पूर्व सचिवद्वय  राजन खनालले सरकारको कार्यक्षमताका सवाल तथा मडिराम गेलालले खरिद दक्षताका सवालमा कार्यपत्र प्रस्तुत गरेका थिए । 

यस्ता छन् मुख्य सचिवका विशेष सुधार योजना समेटिएका महत्त्वपूर्ण १६ बुँदे निर्देशन 

१ निर्णयमा ढिलाइ वा निर्णय नै नगर्ने प्रवृत्ति आजैदेखि त्यागौँ  

२.भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरौँ

३ सुखी नेपाली”को सपना साकार पार्ने एकमात्र साध्य सुशासनमा ध्यान दिऊँ

४ सरकारका नीति र कानुन कार्यान्वयन गर्नमा  साझा प्रतिविद्धताका साथ अघि बढौँ

५ सबै निकायले  नेपाललाई ग्रेलिष्टबाट बाहिर निकाल्न विशेष ध्यान दिऊँ

६ विकास आयोजना र सेवा प्रवाहमा बाधक मानिएका कानुनी प्रावधान खारेज वा संशोधन गरौँ 

७. एउटै प्रकृतिको कामका लागि धेरै संस्थागत संरचना खडा नगरौँ । धेरै भए खारेज गरौँ

८ अनलाइन सेवा प्रवाह, डिजिटाइजेशन र सेवाको एकीकरणमा विशेष ध्यान दिऊँ

९तीनै तहका सरकारबाट प्रवाह हुने सार्वजनिक सेवा विश्वसनीय, अनुमानयोग्य र कम खर्चिलो बनाऊँ

१० सेवा प्रवाहमा जनतालाई दुख दिने प्रवृत्ति तत्काल बन्द गरौँ

११ राम्रो काम गर्नेलाई पुरस्कार र खराब काम गर्नेलाई दण्डको व्यवस्था गरौँ 

१२ शासकीय सुधार आयोग मार्फत महत्त्वपूर्ण कार्य गर्न थालौँ

१३ राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रका बीचमा विश्वासको संकट उत्पन्न भएकाले समयमा नै त्यसको निवारण गरौँ

१४ सार्वजनिक खरिद प्रक्रियालाई चुस्त दुरुस्त र प्रभावकारी बनाऊँ

१५ कर्मचारीतन्त्रलाई  सक्षम, उच्च मनोबलयुक्त र जबाफदेही बनाऊँ, अन्तरतह समन्वय तथा सहकार्यमा जोड दिऊँ

१६ सुधार योजना तयार गरौँ, एकापसमा समन्वयलाई बढाऔँ। “समृद्ध नेपाल सुखी नेपाली”को दीर्घकालीन लक्ष्य हासिल गर्न, जनविश्वासमा अभिवृद्धि गर्न र 
देशको गरिमा बढाउन हातेमालो गरौँ। हाम्रा भावी पुस्ताले हामीप्रति गर्व गर्ने वातावरण सिर्जना गरौँ।