नस्ल सुधारका लागि कृषकलाई बोयर जातका बोका वितरण

1.6k
Shares

लमजुङ। 

वर्ल्ड  भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालको साझेदारीमा सञ्चालित कार्यक्रम अन्तर्गत कृषकहरुलाई बोयर जातका बोका वितरण गरिएको छ ।आरसिडिसीले एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रम अन्तर्गत दोर्दी, मर्स्याङ्दी र सुन्दरबजार क्षेत्रका १० जना कृषकलाई नस्ल सुधारका लागि बोयर बोका वितरण गरेको हो ।

 वितरण गरिएका बोका मर्स्याङ्दी गाउँपालिका–८, उस्ताबेसीबाट खरिद गरिएका हुन् । बाख्राको नस्ल सुधारका लागि कृषकहरुले १५ प्रतिशत तथा संस्थाले ८५ प्रतिशत लागत व्यहोरेको कार्यक्रम संयोजक दुर्गाप्रसाद ढुङ्गानाले जानकारी दिए ।

बोका प्राप्त गर्ने कृषकहरुमा दोर्दी गाउँपालिका–८, दुवारका, सुन्दरबजार ८ र नयाँगाँउका दुई÷दुई जनालाई र गाउँशहरका, पासचौर, सालडाँडा र बेसीशहर १ उदिपुरका गरी क्रमशः एक÷एक जना गरी कुल १० जना रहेका छन् ।

बोयर जातका बोका उच्च उत्पादन क्षमतायुक्त मानिन्छन् । ती बोका प्रजननका लागि प्रयोग गरिने भएकाले स्थानिय जातसँग संकरण गराएर स्थानीय बाख्राको उत्पादन क्षमता वृद्धि गर्ने लक्ष्य लिइएको ढुङ्गानाले बताए ।

यस्ता कार्यक्रमहरुले बाख्रापालन व्यवसायलाई व्यावसायिक बनाउँदै जिल्लाभित्रै गुणस्तरीय मासुको आपूर्ति सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।
बोका पाएका कृषकहरुले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै, यस्ता उन्नत जातका बाख्रा प्राप्त भएपछि उत्पादनमा वृद्धि भई आम्दानीमा पनि टेवा पुग्ने बताए। 

बोका वितरण कार्यक्रममा आरसिडिसीका फिल्ड अधिकृत आस्था पण्डित, सामाजिक परिचालक सूर्यमान गुरुङ र राजु गुरुङको उपस्थिति रहेको थियो । बाख्रा प्राप्त गरेका कृषकहरुले यस्तो सहयोगले आफ्नो पशुपालन व्यवसायमा टेवा पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् ।