काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भनेर दिएको अभिव्यक्तिप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर शाहीले भ्रष्टाचार गर्न नपाए ओली क्याबिनेटमा जानू भनेर अभिव्यक्ति दिएका थिए ।
‘ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानु भन्ने चलन थियो । भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू’ शाहीले भने, ‘मन्त्री क्वार्टरमा पैसा दिएको छ, राजीनामा दिएर स्वीकृत हुन्छ ? भ्रष्टाचारीको पनि देश हो भनेर नाम लेखाउनुस तपाईंहरूको सरकारले ।’
लगत्तै एमाले सचेतक सुनिता बरालले सरकारको नेतृत्वकर्ता प्रधानमनत्री ओलीमाथि लगाएको आरोपप्रति आपत्ति जनाएकी हुन् ।
उनले गल्ती गर्ने मन्त्रीमाथि कारबाहीको माग आफूहरूले गरेपनि सरकारको नेतृत्वमाथि अनर्गल आरोप लगाइएको भन्दै शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
त्यसलगत्तै सभामुख देवराज घिमिरेले नियमापत्ति सम्बन्धमा ध्यानाकर्षण भएको बताए ।
घुस प्रकरणमा विवादमा परेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार नै राजीनामा दिएका छन्।











प्रतिक्रिया