१४३ किलो गाँजासहित भारतीय नागरिक धादिङमा पक्राउ

11.09k
Shares

धादिङ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ आपटारमा १४३ किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

मलेखु–कान्द्राङगढी भित्री सडकखण्डमा चेकजाँचका क्रममा भारतबाट आएका गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय गजुरी र ताल्टी प्रहरी चौकीको टोलीले संयुक्त रुपमा चेकजाँच गर्दा भारतीय नम्बर प्लेटको सवारी साधनको सिटमुनी च्यासिसको भागमा फल्स बटम बनाएर लुकाइ राखिएको अवस्थामा गाँजा फेला पारेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी, डिएसपी सुवास हमालका अनुसार गाडीमा ३१ वटा पोकामा राखिएको १४३ किलो ८४० ग्राम गाँजा बरामद गरिएको छ।

पक्राउ पर्नेमा भारत, बिहार पूर्वी चम्पारण जिल्ला, मोतिहारी अन्तर्गत रक्सौल थाना नोइयाढिह वार्ड नम्बर ४ सहदेवा बस्ने ४५ वर्षीय सरहज मियाँ रहेका छन्। उनलाई जिल्ला अदालत धादिङको आदेशमा १२ दिन थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा र सवारी साधन अहिले इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ।