बुटवल।
रुपन्देहीका तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा निर्माण गरिएको बहुउद्देश्यीय भ्यु टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकालाई पर्यटन मन्त्रालयले सहमति दिएको छ ।
मन्त्रालयको सहमतिपछि नगरपालिकालाई आफ्नै लगानीमा टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउने कानुनी अड्चन हटेको छ । पर्यटकीय पूर्वाधार बनाउन तिलोत्तमा नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत साझेदारी गरेको थियो ।
तर, साझेदारी अनुसार मन्त्रालयले बजेट उपलब्ध नगराएपछि टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणले पूर्णता पाउन सकेको थिएन । लागत साझेदारी भैसकेको क्षेत्रमा नगरपालिका एक्लैले पूर्वाधार निर्माण भुक्तानी गर्दा कानुनी अड्चन आउन सक्ने भएकोले नगरपालिकाले पर्यटन मन्त्रालयको सहमति खोजेको थियो ।
पर्यटन मन्त्रालयले यही असार २९ गते सचिव स्तरीय निर्णय गर्दै तिलोत्तमा नगरपालिकालाई सहमति दिएसँगै अब पर्यटकीय पूर्वाधार निर्माणका लागि कानुनी अड्चन हटेको हो । तिलोत्तमा नगरपालिकाले टावर परिसरमा पर्यटकीय पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड खर्च गरेको छ भने आगामी आर्थिक वर्षको लागि थप एक करोड विनियोजन गरी नीति तथा कार्यक्रम र बजेटबाट पास गरेको नगर प्रमुख रामकष्ण खाँणले बताए ।
नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको बहुउद्देशीय भ्यूटावर संचालनको अनुमतीले यस क्षेत्रमा आन्तरिक तथा बाह् पर्यटक भित्राई रोजगारीको सृजना संगै नगरपालिकालाई आर्थिक रुपमा समेत टेवा पुग्ने विश्वास नगर प्रमुख खाँणले बताए ।
टावर रहेको वडाका वडा अध्यक्ष फर्शुराम गिरीले टावर सञ्चालनका लागि वर्तमान नगर प्रमुख उप प्रमुख र सिगो कार्यपालिकाको ठुलो ईच्छा शक्तिले संचालनको वाटो खुलेको बताए । भ्यूटावर संचालनले वनवाटिकाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ । बहुउद्देश्यीय टावर सञ्चालनमा आएपछि नगरपालिकालाई नियमित आम्दानीको स्रोत समेत बन्ने अध्यक्ष गिरीले बताए ।
बाँकी संरचनाहरु आगामी आर्थिक वर्षमा निर्माण गरेर बहुउद्देश्यीय टावर सञ्चालनमा ल्याउने नगरपालिकालाई अब सहज भएको प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने लक्ष्यका साथ नगरपालिका र वनवाटिकाको लागत साझेदारीमा निर्माण गरिएको हो ।
झण्डै ९ करोड लागतमा बनेको टावर सञ्चालनमा नआउँदा सर्वत्र आलोचना भैरहँदा मन्त्रालयले नगरपालिकालाई सहमति प्रदान गरेको हो । सहमतिले अब तिलोत्तमा नगरपालिकाले टावरमा पूर्वाधार निर्माणका काम आफैंले गर्न सक्ने कानुनी आधार निर्माण भएको हो । काठमाडौँको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भ्यु टावरका रुपमा यसलाई लिइएको छ ।












प्रतिक्रिया