कांग्रेस–एमालेले संसद् ‘विचौलियाको खेलमैदान’ बनाए : प्रचण्ड


काठमाडौँ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अहिले बहुआयामिक संकटको सामना गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

शान्ति सम्झौता र संविधान निर्माणका समयमा जनतासँग गरिएको सपना र प्रतिबद्धता अहिलेको परिस्थिति अनुरूप नभएको उनले बताए। वर्तमान सरकारको कामकाजले ती सबै सपना र प्रतिबद्धतालाई अपमान गरेको प्रचण्डको टिप्पणी छ।

‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अगाडि बढिरहेका छौं?’ उनले सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्न राखे।

भ्रष्टाचार, अराजकता, र बेथिति बढेको, सार्वजनिक सेवामा पहुँच कठिन बनेको र राज्यले पछाडि परेका समुदायलाई आवश्यक संरक्षण दिन नसकेको जिकिर पनि उनले गरे।

संसद् र संसदीय समितिमा भइरहेको कामप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले भने कि विधेयक सर्वसम्मत पारित भएर पनि प्रतिनिधिसभामा पुगेपछि राजनीतिक चलखेल र हस्तक्षेपका कारण अघि बढ्न नसकेको छ।

दुई ठूला दल कांग्रेस र एमालेको मिलोमतोले संसद् ‘विचौलियाको खेलमैदान’ बनाएको आरोप लगाउँदै उनले यो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको बताए।

लोकतन्त्रलाई बलियो बनाउन सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ सरकार गम्भीर भएर अघि बढ्नुपर्ने प्रचण्डको जोड छ। उनले गम्भीर समीक्षा र कडा निर्णय नगरे अवस्था विस्फोटक बन्न सक्ने चेतावनी पनि दिएका छन्।