भवन निर्माणको भुक्तानी रोकेको भन्दै शहरी विकास कार्यालय प्रमुखविरुद्ध एमालेको कानुनी कारबाहीको चेतावनी

16.64k
Shares

सिन्धुली। 

नेकपा (एमाले) सिन्धुलीले आजाद स्मृति भवन निर्माणको भुक्तानी रोकिएको भन्दै शहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा घिमिरेमाथि कानुनी कारबाही प्रक्रिया सुरु गर्ने चेतावनी दिएको छ।

पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत एमालेले भवन निर्माणको सम्पूर्ण कार्य सम्पन्न भइसकेको र उपभोक्ता समितिले आवश्यक कागजातहरू बुझाइसकेको अवस्थामा पनि पूर्वाग्रही ढंगले भुक्तानी रोकिनु गैरजिम्मेवार र पदको दुरुपयोग भएको बताउँदै घोर आपत्ति जनाएको हो।

बागमती प्रदेश सरकारबाट आर्थिक वर्ष २०८१-८२ मा श्रमदानसहित ३७ लाख १९ हजार ९९९ रुपैयाँ विनियोजन भई २०८१ साल पुष २२ गते आजाद स्मृति भवन अधुरो भवन निर्माण उपभोक्ता समितिसँग सम्झौता गरिएको थियो। शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले उक्त समितिलाई कार्यादेश दिएको थियो।

समितिले सम्झौता अनुसार तोकिएको समयभित्र काम सम्पन्न गरी आवश्यक सम्पूर्ण कागजात बुझाइसकेको जनाएको छ। तर पनि कार्यालय प्रमुख दुर्गा घिमिरेले भुक्तानी रोकेकोमा उपभोक्ता समिति र नेकपा एमाले दुवै असन्तुष्ट छन्।

उपभोक्ता समितिका अध्यक्ष एवं नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले कार्यालय प्रमुख घिमिरेले “एमालेका नेताहरूको दबाबका कारण भुक्तानी रोकिएको हो“ भन्ने गैरजिम्मेवार जवाफ दिएको आरोप लगाउँदै सो टिप्पणी पार्टीको आन्तरिक जीवनमा खेलबाड गर्ने नियत भएको बताए । 

सिन्धुलीको साविक सिद्धेश्वर गाविसको वडा नं. ६-छ कित्ता नं. ३४२ को एक कट्ठा दुई पाई जग्गा एमाले सिन्धुलीको नाममा दर्ता रहेको छ । पार्टीको नाममा रहेको जग्गामा सरकारी बजेट खर्च गरेर पार्टी कार्यालय बनाएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।