उदयपुर प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

8.65k
Shares

उदयपुर। 

मनसुन सक्रिय भएसँगै बाढी र अन्य विपद्को जोखिम बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालय उदयपुरले सम्पूर्ण जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बुधवार एक सूचना जारी गर्दै सम्भावित जोखिमबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

सूचनामा भनिएको छ कि मनसुन सुरु भएदेखि पहाडी तथा उच्च हिमाली क्षेत्रमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले वर्षा तथा बाढीको जोखिम र नदीहरूको जल सतह बढ्ने सम्भावनाबारे निरन्तर सूचना तथा सन्देश प्रकाशन र प्रसारण गरिरहेका छन्।

विशेषगरी चीनको तिब्बत क्षेत्र हुँदै रसुवाको भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलसहित धेरै महत्त्वपूर्ण संरचनाहरूमा गम्भीर क्षति पुगेको र ठूलो मानवीय क्षति समेत भएको भनिएकाले उदयपुरमा पनि सतर्कता अपनाउनुपर्ने देखिएको हो।

अनावश्यक हिँडडुल नगर्नेः वर्षातको मौसममा जुनसुकै बेला पनि ठूलो पानी पर्न सक्ने, भू–क्षय हुन सक्ने तथा खोला, खहरे र नदीहरूको जल सतह बढ्न सक्ने सम्भावना रहेकोले अति आवश्यक कामबाहेक हिँडडुल नगर्न आग्रह गरिएको छ।

रातमा सवारी चलाउँदा सावधानीः रातको समयमा जोखिम क्षेत्रका मुख्य सडक र सहायक मार्गहरूमा सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

नदी किनारमा उच्च सतर्कताः तिब्बत मुहान भएका सप्तकोशी नदीका सहायक नदीहरूमा बाढी आउन सक्ने र त्यसले विपद्को अवस्था सिर्जना गर्न सक्ने प्रबल सम्भावना रहेकाले सुनकोशी नदी र सप्तकोशी नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

जिल्ला प्रशासन कार्यालयले उदयपुरका सबै पालिका र सुरक्षा निकायलाई बोधार्थ तथा कार्यार्थका लागि सूचना पठाएको छ। सबै स्थानीय तहले नजिकका सुरक्षा इकाईहरूसँग समन्वय गर्नुपर्नेछ।

यसैगरी, पशुपति प्रसाद गण पिपलटार ब्यारेकलाई पूर्वतयारीमा रहन निर्देशन दिइएको छ भने जिल्ला प्रहरी कार्यालय, उदयपुरलाई सबै सुरक्षा युनिटहरूलाई सतर्क अवस्थामा राख्न भनिएको छ। सशस्त्र प्रहरी बल, नेपाल ५ नं. गण हे.क्वा. त्रियुगा, उदयपुरलाई पनि सबै सुरक्षा युनिटहरूलाई सतर्क अवस्थामा राख्दै स्थानीय पालिकाका विपद् सूचक र स्वयंसेवकहरूलाई सूचित गर्न उल्लेख गरिएको छ।