काठमाडौं ।
आर्थिक वर्ष २०८१\८२ नेपाली अर्थतन्त्रका लागि विभिन्न सूचकहरूको दृष्टिले सुधारोन्मुख रहेको देखिन्छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार यस वर्ष आर्थिक वृद्धिदर ४.६१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जुन गत वर्षको ३.८७ प्रतिशतको तुलनामा उल्लेखनीय सुधार हो । यो वृद्धिसँगै कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार ५७ खर्बबाट बढेर ६१ खर्ब रुपियाँ पुगेको छ, जसले अर्थतन्त्र विस्तार हुँदै गएको संकेत देखाउँछ ।
राजस्व संकलनमा सामान्य सुधार देखिएको छ । हालसम्म कुल १० खर्ब ९७ अर्ब रुपियाँ राजस्व संकलन भएको छ, जुन गत वर्षको तुलनामा १ खर्ब ८ अर्ब रुपियाँले बढी हो। यो हालसम्मको कुल लक्ष्यको ७७.३४ प्रतिशत हो ।
पूँजीगत खर्चतर्फ पनि सुधार देखिएको छ । चालु वर्षमा २ खर्ब ८ अर्ब रुपियाँ पूँजीगत खर्च भएको छ, जुन गत वर्षको तुलनामा ३६ अर्ब रुपियाँ बढी हो । खर्च कार्यान्वयन दर ५९.१३ प्रतिशत पुगेको छ, जुन अघिल्ला वर्षहरूको तुलनामा केही उत्साहजनक भए तापनि अझै लक्षित पूर्वाधार तथा विकास परियोजनाहरू प्रभावकारी रूपमा सम्पन्न हुन सकेका छैनन् ।
पूँजी बजारमा पनि आशावादी संकेत दिइरहेको छ । असार २५ सम्म नेप्से परिसूचक २७०५ विन्दुमा पुगेको छ, जुन गत वर्षको सोही समयमा २१०० विन्दुमा थियो। निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्ष ५.६ प्रतिशत मात्र थियो । यससँगै वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर पनि घट्दै गएको छ । गत वर्षको ८.१७ प्रतिशतबाट घटेर अहिले ६.०९ प्रतिशत पुगेको छ।
त्यस्तै रेमिट्यान्स पनि १५.५ प्रतिशतको वृद्धि भई यो वर्ष १५३२ अर्ब रुपियाँ पुगेको छ। अघिल्लो वर्ष यो १३२७ अर्ब रुपियाँ थियो । निर्याततर्फ पनि उल्लेखनीय सुधार भएको छ । यस वर्षको पहिलो ११ महिनामा निर्यातमा ७७.८ प्रतिशत वृद्धि भएको छ, जबकि गत वर्ष त्यही अवधिमा ३ प्रतिशत मात्र वृद्धिदर देखिएको थियो । आयात भने गत वर्षका तुलनामा बढेको छ । यस वर्ष १३.१ प्रतिशतले आयात बढेको छ, गत वर्ष यो दर १.८ प्रतिशत मात्रै थियो ।शोधान्तर स्थितिमा सुधार हुँदै जेठ मसान्तसम्म ४ सय ९१ अर्ब बचत रहेको छ । गत वर्षको असारसम्म ४ सय ९२ अर्ब मात्रै थियो ।
यसैगरी चालू खाता बचतमा भने गिरावट आएको छ । गत वर्ष २ सय अर्ब रुपियाँ रहेको चालू खाता बचत अहिले घटेर ३ अर्ब ७ अर्बमा सीमित भएको छ। तर, विदेशी विनिमय सञ्चितिमा भने उल्लेखनीय वृद्धि भएको छ । जेठ मसान्तसम्ममा वैदेशिक मुद्रा सञ्चिति १८ अर्ब ६५ करोड अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष सोही अवधिमा १४ अर्ब ७२ करोड डलर मात्र थियो । सञ्चितिले १७ महिना बराबरको वस्तु आयात र १४ महिना बराबरको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ ।
मुद्रास्फिति पनि घट्दै गएको छ । मुद्रास्फिति दर २.७७ प्रतिशतमा सीमित छ, जुन गत वर्षको ४.४० प्रतिशतको तुलनामा निकै कम हो। यो उपभोक्ताहरूका लागि केही राहतको संकेत मानिएको छ।
सरकारले बहुवर्षीय ठेक्का प्रणालीलाई व्यवस्थित र कार्यान्वयन योग्य बनाएको जनाएको छ, जसले दीर्घकालीन पूर्वाधार परियोजनामा स्थायित्व र पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ। वैदेशिक सहायता प्रतिबद्धतामा पनि वृद्धि देखिएको छ । चालु वर्षमा २ खर्ब १९ अर्ब रुपियाँको सहायता प्रतिबद्धता आएको छ, जुन अघिल्लो वर्षको तुलनामा १ खर्ब १७ अर्बले बढी हो । नेपालको क्रेडिट रेटिङ भने अझै ‘बीबी माइन्स’ स्तरमै सीमित छ, जसले वित्तीय विश्वसनीयताको दृष्टिले सुधार आवश्यक रहेको देखाउँछ ।
समग्रमा हेर्दा चालु आर्थिक वर्षमा नेपालले थुप्रै सकारात्मक उपलब्धिहरू हासिल गरेको देखिए तापनि, चालू खाता घाटा, लगानी विस्तारको धिमा गति र संरचनागत कमजोरीहरू अझै अर्थतन्त्रका लागि चुनौतीपूर्ण बनेका छन् । अबको ध्यान बजेट कार्यान्वयनको प्रभावकारिता, निजी लगानी प्रवद्र्धन, तथा उत्पादनमूलक क्षेत्रको विस्तारमा केन्द्रित हुन आवश्यक देखिन्छ । साथै लक्ष्य अनुसारको राजस्व संकलन, पूँजीगत खर्चमा थप वृद्धि, ग्रे लिष्टबाट बाहिर निस्कने जस्ता चुनौती विद्यमान छन् ।











प्रतिक्रिया