लुम्बिनीमा ५ वर्षदेखि थन्किएका इ-गाडी अब निजी साझेदारीमा सञ्चालन हुने


काठमाडौं ।

लुम्बिनी विकास कोषले एसियाली विकास बैंकको अनुदानमा २०७७ सालमा ल्याइएका १९ वटा विद्युतीय गाडीहरू निजी साझेदारी मोडलमा सञ्चालन गर्ने भएको छ।

५ बस र १४ भ्यानलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरेपछि उच्च अदालत बुटवलको आदेशअनुसार कोषले ती गाडी पर्यटन प्रयोजनमा प्रयोग गर्ने तयारी गरेको हो।

उपाध्यक्ष ल्यारकेल लामाको संयोजकत्वमा समिति गठन गरिएको छ भने बोलपत्र आह्वान साउनको अन्तिमसम्म हुने कोषका सदस्यसचिव सानुराज शाक्यले जानकारी दिएका छन्।

लामो समय थन्किएका कारण केही गाडी मर्मतका लागि ग्यारेज पठाइएको छ। चार्जिङ स्टेसनसहितको पूर्वाधार निर्माण भए पनि अहिलेसम्म प्रयोगमा नआएको थियो।