सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण


काठमाडौँ
सांग्रिला डेभलपमेन्ट बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका– ४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ ।

हिजो सोमबार आयोजित कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, दाङका सब क्लस्टर प्रमुख आशकुमार जरेजुले स्वास्थ्य केन्द्रका प्रमुख डा. युवराज महरालाई ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गर्नुभएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरिएको हो । कार्यक्रममा सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मनिराज बुढाथोकी, गाउँपालिका उपाध्यक्ष मीना थापा, सांग्रिला डेभलपमेन्ट बैंक सुलिचौर शाखाका इन्चार्ज कमलविक्रम शाहलगायतको उपस्थिति थियो ।

गाउँपालिका अध्यक्ष बुढाथोकी, उपाध्यक्ष थापा तथा डा. महराले ‘अक्सिजन कन्सेन्ट्रेटर’ले बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सांग्रिला डेभलपमेन्ट बैंकलाई धन्यवाद दिनुभयो ।

सांग्रिला डेभलपमेन्ट बैंकले यसअघि पनि यसै महिना मुस्ताङको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई पनि एक थान ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको यस बैंकले आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।