रौतहट।
पक्राउ पुर्जी जारी भएका एक सरकारी अधिकृत नत कार्यालय जान्छन् नत अनुसन्धान लाई नै सघाउँछन् । कार्यालयमा हाजिर नभएको एक साता बितिसक्दा पनि नत उनी निलम्बनमा परेका छन् । काठमाडौँ स्थित नापी कार्यालय डिल्लीबजार अन्तर्गत टोखा टोली प्रमुख सञ्जय साह गत असार १६ गते देखि कार्यालयको सम्पर्कमा छैनन् ।
साहलाई इलाका प्रहरी कार्यालय गरुडाले ठगी आरोपमा अनुसन्धानका गर्न जिल्ला अदालत गौरबाट पक्राउ पुर्जी लिएदेखिनै उनी फरार रहेका छन् । प्रहरीले गत जेठ १३ गते पक्राउ पुर्जी लिएपछि कार्यालयमा बिदा लिएका साहको गत असार १५ गते बिदा सकिएपनि उनी कार्यालयमा हाजिर भएका छैनन् । नापी कार्यालय डिल्लीबजारका निमित्त प्रमुख प्रकाश ओलीले टोखा प्रमुख साह अझै कार्यालयमा हाजिर नभएको बताए । नापी अधिकृत साह सहित दुर्गाभगवती गाउँपालिकाका पूर्वअध्यक्ष अरुण साह, काठमाडौँ नागार्जुन–४ का विमलादेवी श्रेष्ठ र उनका छोरा धीरज श्रेष्ठ विरुद्ध ठगी आरोपमा इलाका प्रहरी कार्यालय गरुडाले अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
पक्राउ पुर्जी जारी गरिएका विमला श्रेष्ठको भने निधन भैसकेको छ । काठमाडौंको नागार्जुन–४ का विमलादेवी श्रेष्ठको सर्लाही हरिपुर नगरपालिका–७ मा रहेको कित्ता नम्बर ७७३ को ११ कठ्ठा १४ धुर जमिन नापी अधिकृत साह र पीडित चौधरीले २ करोडको संयुक्त लगानीमा खरिद गरेर नापी अधिकृत साहको नाममा रजिष्ट्रेशन ( पास ) गरेकोमा पीडित चौधरीलाई थाहै नदिई ०८०-०८१ मा नापी अधिकृत साहले चार कित्ता बनाई चार जनालाई बिक्री गरेर ठगी गरेको आरोप लागेको हो । गरुडा नगरपालिका–६ पोठियाहीका सन्तोषकुमार चौधरीले साझेदारीमा खरिद गरिएको जग्गा नापी अधिकृत साहले एकलौटी बिmत्री गरेर १ करोड १० लाख ठगी गरेको जाहेरी इलाका प्रहरी कार्यालय गरुडामा दर्ता गराएपछि उनी सहितका माथि पक्राउ पुर्जी जारी भएको थियो तर लामो समय बितिसक्दा समेत उनीहरु पक्राउ नपरेपछि पीडितपक्ष चिन्तित बनेका छन् ।
दुर्गाभगवती गाउपालिकाका पूर्वअध्यक्ष साहले भने पीडित संग १० लाख लिएको र पक्राउ पुर्जी जारी भएपछि पीडितलाई फिर्ता गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीले जग्गाधनी विमला श्रेष्ठको छोरा धीरज श्रेष्ठ लाई पक्राउ गरेर हाजिरी जमानीमा छाडेको थियो । इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले नापी अधिकृत साह अझै पक्राउ नपरेको बताए । उनले साहसहितलाई पक्राउ गर्न सम्बन्धित प्रहरी कार्यालयमा पत्राचार गरिएको बताए । नापी अधिकृत साह ०७८ सालमा रौतहटको चन्द्रपुरस्थित नापी कार्यालयमा प्रमुख पदमा कार्यरत रहदा अकुत सम्पत्ति कमाएको आरोप रहेको छ । उनले आफू र आफ्ना परिवारका नाममा काठमाडौँ लगायतका स्थानमा घर, घडेरी जोडेको आरोप रहेको छ । पीडित लगायतले नापी अधिकृत साहमाथि अकुत सम्पत्ति जोडेकोमा समेत अनुसन्धान हुनु पर्ने माग राखेका छन् ।











प्रतिक्रिया