रसुवा।
उत्तरी छिमेकी चीनतर्फबाट आएको बाढीले रसुवामा ठूलो क्षति पुर्याएको छ। मङ्गलबार बिहान ३ बजे भोटेकोशी नदीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको र सडक सम्पर्क पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ।
रसुवागढी भन्सार क्षेत्र, सुख्खा बन्दरगाह यार्ड, इभी चार्जिङ स्टेशन र जलविद्युत आयोजना क्षेत्रमा क्षति पुगेको छ। स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा ५५ जनालाई उद्धार गरिएको छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको छ। उद्धार गरिएका मध्ये ५० जना नेपाली, १ जना चिनियाँ र ४ जना भारतीय नागरिक रहेका छन्।
यसैगरी, बाढीपछि सम्पर्कविहीन भएका १८ जनाको नाम सार्वजनिक गरिएको छ। बेपत्ताहरूमा ३ जना प्रहरी र अन्य कामदार तथा चालकहरू रहेका छन्।
यसबीच, उत्तरगया गाउँपालिका–५ स्थित खोला किनारमा एक पुरुषको दाहिने खुट्टा मात्र फेला परेको जनाइएको छ।
रसुवा भन्सार यार्डमा राखिएका केही मालवाहक ट्रक, कन्टेनर र इभी सवारी पनि बगाएको र जलविद्युत आयोजनाहरूमा सजकता अपनाउन अनुरोध गरिएको छ।
स्थानीय प्रशासनले प्रभावित क्षेत्रमा उद्धार, राहत र बेपत्ताको खोज कार्य जारी राखेको जनाएको छ।











प्रतिक्रिया