बुटवल।
काँग्रेस–एमाले गठबन्धनको सरकार आगामी २०८४ सम्मै रहने र त्यतिबेलासम्म मुलुकभरिका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित जग्गाधनीलाई प्रमाण पुर्जा दिने कार्य सम्पन्न गरिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
रुपन्देहीको कञ्चनमा आइतबार एक विशेष समारोहका अर्थमन्त्री पौडेलले भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्ला नेतृत्व एवम् मालपोतका सम्बन्धित अधिकारीहरुको रोहबरमा लालपुर्जा वितरण गरेका हुन् । विगत ४२ वर्षदेखि बसोबास गर्दै आएका कञ्चन–५का ९८ वर्षीय भानुभक्त उपाध्यायलाइ अर्थमन्त्री पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका हुन् । अहिलेको सरकार समस्याको आगो ताप्न बनेको नभै समाधान गर्न बनेको जिकिर गर्दै अर्थमन्त्री पौडेलले बाँकी भूमिहीन सुकुम्बासीहरु पनि लालपुर्जा प्राप्त गर्ने प्रक्रियामा रहेको बताए ।
संघीय सांसद वासुदेव घिमिरेले सुकुम्वासी समस्या दीगो रुपमा समाधान गर्ने गरी अहिलेको सरकार अगाडि बढेकाले नागरिकले साथ दिनुपर्ने बताए ।
पूर्व सांसद भरतकुमार शाहले रुपन्देही ५ का जनतालाई लालपुर्जा वितरण गर्ने आफ्नो पहिलेदेखिको सपना भएको बताउँदै त्यो सपना पूरा भएको उल्लेख गरे ।
उनले कञ्चनका जनता सम्पत्तिको मालिक भएको बताउँदै लामो समयदेखि लालपुर्जाको आशामा बसेका कञ्चनका जनताको लालपुर्जा पाउने आशा साकार भएको बताए । उनले लालपुर्जा पाएपनि १० बर्षसम्म विक्री गर्न नपाउने र बैंकमा राख्न समेत नपाउने प्रावधानले समस्या निम्त्याउने भएकोले यो समस्याको गाँठो फुकाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले आयोगले देशव्यापी रुपमा सुकुम्बासीहरुको लगत संकलन गरिरहेको र ठाउँठाउँमा पुर्जा वितरणको कार्य पनि चलिरहेको भन्दै सुकुम्वासी समस्या छिटै समाधान हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले रुपन्देहीमा कन्चन गाउँपालिकाबाट लालपुर्जा बाँड्ने कार्यको सुरुवात भएको भन्दै अव क्रमशः अन्य पालिकाहरुमा पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण गर्दै जाने बताए । त्यस अवसरमा कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, उपाध्यक्ष मौसमी थापा प्रमुख प्रशासकिय अधिकृत माधव पोखरेल लगायतले पालिकाको समग्र वस्तुस्थितिबारे जानकारी गराएका थिए।











प्रतिक्रिया