सप्तरीमा सिटी सफारीको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक फरार


सप्तरी ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही बिरपुरमा सिटी सफारीको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ। शुक्रबार राति राजविराजबाट लोखरमतर्फ गइरहेको स १ ह ९०९ नम्बरको सिटी सफारीले विष्णुपुर गाउँपालिका–४ कन्कट्टाका ४० वर्षीय कुशेश्वर मरिकलाई ठक्कर दिएको हो।

गम्भीर घाइते भएका मरिकलाई गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज ल्याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनापछि सिटी सफारीलाई प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार छन्। मृतकका परिवारले शनिबार चालकविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेका छन्।

उनीहरूले राति बिना लाइट सवारी चलाएको कारण दुर्घटना भएको र दुर्घटनापछि चालकलाई प्रहरीले भगाउन सघाएको आरोप समेत लगाएका छन्।

दुर्घटनास्थलदेखि मात्र डेढ किलोमिटर टाढा रहेको प्रहरी चौकी बरही बिरपुर नजिकै भए पनि तत्कालीन समयमा प्रहरी उपस्थित नभएको भन्दै मृतक परिवार आक्रोशित छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार सिटी चालकको खोजी कार्य जारी छ। शवको पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइसकेका छौं,उनले भने, दुर्घटनासम्बन्धी अनुसन्धान अगाडि बढाइएको छ।