काठमाडौं।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै कांग्रेसको प्रमुख कार्यभार जनतामा आशा र विश्वास पुनःस्थापित गर्नु रहेको बताएका छन्।
उनले केन्द्र, प्रदेश र स्थानीय तहका सरकारका काम प्रभावकारी बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए।
भ्रष्टाचारलाई देशको प्रमुख समस्या भन्दै उनले उच्च ओहदामा रहेका नेता, कर्मचारी र व्यवसायीसँग सम्बन्धित सम्पत्तिहरूको छानबिन र शुद्धिकरणको आवश्यकता औंल्याए। “भ्रष्टाचार नियन्त्रण गर्न नसकेसम्म जनताको विश्वास कायम हुँदैन,” कोइरालाले भने।
कोइरालाले विदेश गएका युवाहरूलाई पुनः स्वदेश फर्काउने वातावरण निर्माण गर्न र उनीहरूको पूँजी, सीप र अनुभवको सदुपयोग गर्न विशेष कार्ययोजना बनाउनुपर्नेमा पनि पार्टीको ध्यानाकर्षण गराए।

पार्टीको आन्तरिक सुधारबारे कुरा गर्दै उनले चुनावको समयमा टिकट वितरणमा हुने विकृति र कार्यकर्ताको निराशा रोक्न ‘हाइपर सोनिक मिसाइल’ जस्तै कडा कार्यविधि लागू गर्नुपर्ने आवश्यकता बताए।
उनले पार्टीमा चन्दा दिने व्यक्तिहरूले गर्व गर्ने प्रवृत्तिलाई समेत आलोचना गरे। साथै, शेखर कोइराला र शेरबहादुर देउवाबीचको प्रतिस्पर्धा र वर्तमान नेतृत्वको उदारतालाई स्मरण गर्दै यसलाई सन्तुलित रूपमा अघि बढाउनु पर्ने बताए।
अन्त्यमा, कोइरालाले विनोद चौधरीको सक्रिय राजनीतिक भूमिकाको कदर गर्दै कांग्रेसको भविष्यका लागि एकता र सहकार्य अपरिहार्य रहेको औंल्याए।











प्रतिक्रिया