काल्पनिक विद्यालयको नाममा रकम हिनामिना गर्ने ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौँ |

डोल्पा जिल्लामा अस्तित्वमै नरहेको विद्यालयको नाममा योजना बनाई सरकारी रकम हिनामिना गरिएको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरिएको छ।

डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ मा “दुर्गा प्राथमिक विद्यालय, तिप्ला” को नाममा २०७६/७७ मा दुई कोठे भवन निर्माणको योजना पारी झुट्टा कागजात पेश गरी ७ लाख ६० हजार रुपैयाँको भ्रष्टाचार गरिएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आरोपमा संलग्न रहेका चार जनामाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार, स्थलगत अध्ययन तथा जिल्ला शिक्षा कार्यालय डोल्पाको प्रमाणका आधारमा, उक्त विद्यालय कहिल्यै पनि सञ्चालनमा थिएन। सो स्थानमा केवल श्री लालिगुँरास आधारभूत विद्यालय मात्रै सञ्चालनमा रहेको पाइएको छ। तथापि दुर्गा प्रा.वि.को नाममा उपभोक्ता समिति गठन गरी नक्कली कागजातमार्फत झुट्टो खर्च देखाई रकम भुक्तानी लिइएको प्रमाणित भएको छ।

आरोपितहरू र तिनका भूमिकाः
१- रविचन्द्र पजियार – तत्कालीन कार्यालय प्रमुख, जिल्ला प्राविधिक कार्यालय, डोल्पा योजना पार्ने, सिफारिस गर्ने र चेकमार्फत रकम निकासा गर्ने मुख्य अभियुक्त।

२-मनिराम कुर्मी – तत्कालीन लेखापाल, जिल्ला प्राविधिक कार्यालय योजनामा संलग्न भई रकम भुक्तानी प्रक्रिया सहयोग गर्ने दोष।

३-नन्दसिंह बुढा – अध्यक्ष, उपभोक्ता समिति नक्कली उपभोक्ता समिति मार्फत रकम निकाल्न सहयोग पुर्‍याउने।

४-संगिता बुढा – कोषाध्यक्ष, उपभोक्ता समिति गैरकानुनी लाभ लिन भूमिका निर्वाह गरेको आरोप।

उनीहरू सबैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, ३(१)(ङ), ३(१)(घ), २२ लगायतका प्रावधान अन्तर्गत कैद, जरिवाना र बिगो असुलीको माग गरिएको छ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, उक्त कार्यमा संलग्न सबै व्यक्तिहरूको भूमिका स्पष्ट देखिएको र झुटा कागजात प्रस्तुत गरी सरकारी रकम अपचलन गर्नु गम्भीर अपराध भएकाले विशेष अदालत समक्ष मुद्दा दायर गरिएको हो।