चर्को तापमानमा क्लब विश्वकप


लन्डन, (एजेन्सी)

अमेरिकामा चर्को तापक्रमले गर्दा जारी क्लब विश्वकपका कयौं खेलहरूमा असर पारिरहेको छ । यसैक्रममा बुधबारको खेलपछि पनि तापमानलाई लिएर टोलीले गुनासो गरेको छ । युभेन्टसका मेनेजर इगोर टुडोरले बताए कि उनको टोलीका १० खेलाडीले सब्सीच्युट गर्न भनेका थिए ।

बुधबार बिहान भएको अन्तिम १६ को खेलमा युभेन्टस रियल मेड्रिडसँग १–० ले पराजित भएको थियो । मायामीमा यस खेल भइरहँदा ३० डिग्री सेल्सियसको तापमान नापिएको थियो । यस चर्को तापका कारण खेलाडीले खेल्न कठिन भएको टुडोरले बताएका थिए ।

खेलमा ५ जना खेलाडी सब्सीच्युट गर्ने प्रावधान रहेको छ । यदि, अतिरिक्त समयमा खेल लम्बिएमा ६ सम्म खेलाडी सब्सीच्युट हुने नियम रहेको छ ।

खेलपछि मेनेजर टुडोरले बताएका थिए—खेलमा तनाव थियो । खेलाडीको शक्ति खेर गएको थियो । हामी यस्तो चर्को तापमानमा पनि खेलिरहेका थियौं ।
बोरुसिया डर्टमन्डका मेनेजेर निको कोभाचले पनि प्रचण्ड गर्मीले नुहाएको जस्तै पसीना पसीना भएको बताए । यद्यपि उनको टोलीले जित हासिल गरेर क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

यसअघि समूह चरणको बेनफिकाको बायर्न म्युनिकविरुद्ध जित पाएको खेल चलिरहँदा ३६ डिग्रीसम्म तापक्रम पुगेको थियो । यो खेल उत्तरी क्यारोलिनामा भएको थियो । यस्तै, चेल्सीका मेनेजर इन्जो मारेस्काले फिलाडेल्फियामा गर्मीको चेतावनीसँगैं अभ्यास गर्न असंभव भएको बताएका थिए ।

दाजुभाइ भेट नहुने

बोरुसिया डर्टमन्डका जोबे बेलिंगामले दोहोरो पहेँलो कार्ड पाएपछि अर्को खेल खेल्न नपाउने भएका छन् । यससँगैं उनले उनका दाजु जुडे बेलिंगामको विरुद्ध खेल्न नपाउने भए । जुडे रियल मेड्रिडबाट खेलिरहेका छन् । क्लब विश्वकपअन्तर्गत क्वार्टरफाइनल खेलमा बोरुसियाको सामना रियलसँग हुने भएको छ ।