बिकट गाउँमा आयुर्वेद औषधालय


हेटौंडा । 

मकवानपुरको पश्चिमी बिकट क्षेत्र राक्सिराङ गाउँपालिका–५, ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार उद्घाटन गरिएको छ ।
पालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पञ्चकर्म तथा पूर्वकर्म आयुर्वेद औषधालय उद्घाटन गरेका हुन् ।

बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमका रुपमा चिनाउँदै यसले आधुनिक औषधिले दिने साइडइफेक्टमुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । बानियाँले कम आय भएका नागरिकका लागि सर्वसुलभ र प्रभावकारी स्वास्थ्यसेवा दिन सकिने औषधालयलाई प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाए ।

बानियाँले स्थानीय जनताको स्वास्थ्यमा सुधार ल्याउने यस्ता सेवा गाउँमै ल्याउनु प्रदेश सरकारको दायित्व भएको बताउँदै राक्सिराङमा बिगतदेखि प्रदेश सरकारबाट आएका पूर्वाधार बजेटलाई उचित समन्वय गरी आयआर्जन, रोजगारी तथा विकास निर्माणमा जोडिनुपर्नेमा जनप्रतिनिधिहरु गम्भीर र उत्तरदायी हुनुपर्नेमा जोड दिए । बानियाँले स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताए ।

औषधालयमा ओपीडी सेवा, ज्येष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामवचन शाहले दिए । गाउँपालिकाको ३० लाख बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको छ । औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गरेका हुन् । पालिका उपाध्यक्ष वनस्तम थिङ, वडा–५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, पालिका कर्मचारी र स्थानीयको उपस्थिति थियो ।