लन्डन, (एजेन्सी)
पूर्व क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग ४–० ले हारेपछि लियोनेल मेसी र उनको टोली इन्टर मायामी जारी फिफा क्लब विश्वकपबाट बाहिरिएका छन् । एटलान्टामा सोमबार बिहान भएको खेलमा पीएसजीले जित निकालेर क्वार्टरफाइनलको यात्रा तय गर्दा अमेरिकी क्लब मायामी बाहिरिएको हो ।
फ्रेन्च टोली पीसजीका जितमा जोआओ नेभेसले २ गोल र अचरफ हाकिमीले १ गोल गरेका थिए । एक गोल आत्मघातीको थियो । पीएसजीले पहिलो हाफमै ४ गोल गरेसँगैं मायामीको खेलमा फर्कने संभावना लगभग सकिएको थियो ।
पोर्चुगिज खेलाडी नेभेसले खेलको छैटौं मिनेटमा नै गोल गरेर पीएसजीलाई १–० को अग्रतामा राखेका थिए । उनले ३९औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा मियामीका टोमस अविलेसबाट आत्मघाती गोल भयो भने पहिलो हाफको इन्जुरी समयमा हाकिमीले थपेका थिए ।
गत महिना च्याम्पियन्स लिगको फाइनलमा पीएसजीले इटालियन क्लब इन्टर मिलानमाथि पनि फराकिलो जित निकालेर उपाधि जितेको थियो । सो खेलमा पीएसजीले इन्टरलाई ५–० ले हराएको थियो । यस क्लब विश्वकपको अन्तिम ८ मा पीएसजीको सामना जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिकसँग हुनेछ ।
मेसीलाई हेर्न हजारौं दर्शक
३८ वर्षीय मेसीलाई हेर्न एटलान्टा रंगशालामा करिब ६५ हजार दर्शक उपस्थित थिए । तर, पहिलो हाफमै ४ गोल बेहोरेपछि मेसीका समर्थकहरू निरास भएको द सनले जनाएको थियो ।
अर्जेन्टिनी स्टार मेसीले पीएसजीमा सन् २०२१ देखि २०२३ सम्म खेलेका थिए । उनले पीएसजीका लागि समग्रमा ७५ खेलमा ३२ गोल गरेका थिए । यसपछि सबैलाई आश्चर्यमा पार्दै डेभिड बेकहामको क्लब इन्टर मायामीमा आबद्ध भएका हुन् ।











प्रतिक्रिया