डा. शेखर कोइरालाको आक्रोश: गुटबन्दी, अनुशासनहीनता र नेताको जबाफदेहितामाथि प्रश्न

6.49k
Shares

काठमाडौं ।  

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको केन्द्रीय समिति बैठकमा खुलेरै असन्तुष्टि जनाउँदै पार्टी नेतृत्वप्रति कडा प्रश्न उठाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी एकढिक्का बनाउन सकिने विश्वास व्यक्त गरे पनि उनले पार्टीभित्र गम्भीर गुटबन्दी, अनुशासनहीनता र निर्णय प्रक्रियामा पारदर्शिताको अभाव रहेको आरोप लगाएका छन् ।

कोइरालाले १५औं महाधिवेशन निर्धारित समयमा नगर्नुका कारणमा स्पष्ट जवाफ माग्दै, गठबन्धनको अस्थिर नीति, सिट बाँडफाँडमा भएको अन्याय र अनुशासन समितिको कमजोरीप्रति गहिरो चिन्ता व्यक्त गरे। उनले संविधान संशोधनको विषयमा गरिएको सात बुँदे सहमति कार्यान्वयन नभएको र नेतृत्वले जवाफदेहीता लिन नसकेको बताए।

शेखर कोइरालाले अनुशासन समितिको संरचना पुनःगठनको माग गर्दै, समान प्रकृतिका घटनामा भेदभावपूर्ण कारबाही भएको बताए। साथै, भातृ संस्थाहरु नेविसंघ, तरुण दल, महिला संघ र दलित संघको असन्तोष र नेतृत्वको असफलताले पार्टीलाई कमजोर बनाएको बताए।

वि.पी. कोइरालाको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्ने आफ्नै समुहका नेताहरूप्रति आक्रोश व्यक्त गर्दै उनले अनुशासन कसका लागि भन्ने प्रश्न उठाए। उनले निष्कर्षमा भने, “गुटबन्दी र भागबण्डाको राजनीति त्यागौं, पार्टी एकता कायम गरौं।”