–अध्यागमन प्रणालीको सुदृढीकरण, एमसिसीमा सहयोगको निरन्तरता, स्वास्थ्य शिक्षा लगायतका बारेमा छलफल
–विपद् व्यवस्थापनका लागि लजिष्टिक सहयोग महत्त्वपूर्ण : मुख्य सचिव अर्याल
– अध्यागमन व्यवस्थापनमा सुदृढीकरणको आवश्यकता छ : राजदूत थम्पसन
काठमाडौँ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल र अमेरिकन राजदूत डिन आर थम्पसनबीच नेपाल अमेरिका सम्बन्धका द्विपक्षीय विषयहरूमा गहन छलफल भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार भएको भेटका क्रममा नेपालको अध्यागमन प्रणालीको सुदृढीकरण, अवैध आप्रवासनले निम्त्याएमा समस्याहरू, नेपालमा अमेरिकी लगानी एवं मिलेनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतका परियोजनामा अमेरिकी सहयोगको निरन्तरतालगायतका विषयमा छलफल भएको छ ।
भेटका क्रममा मुख्यसचिव अर्यालले अमेरिकी सरकारबाट विगत सात दशकदेखि शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, यातायात, सञ्चार, कृषि, वन, ऊर्जालगायतका क्षेत्रमा प्राप्त अमेरिकी सहयोगको प्रशंसा गरे । साथै, एमसिसी परियोजनाका लागि अमेरिकी सरकारसँग भएको सम्झौताबमोजिमको वित्तीय स्रोत नेपालको सीमापार विद्युत् निर्यात, समग्र उत्पादकत्व र अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिमा भएको सहयोगका लागि पनि उनले धन्यवाद दिए । त्यसैगरी विपत् व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको क्षमता विकास र सो प्रयोजनका लागि लजिस्टिक सहयोग नेपालका लागि महत्त्वपूर्ण रहेको मुख्यसचिव अर्यालको भनाइ थियो।
भेटका क्रममा अमेरिकी राजदूत थम्पसनले नेपालमा अमेरिकी लगानीकर्ताका लागि वातावरण थप सहज बनाउन अनुरोध गर्दै अध्यागमन व्यवस्थापनमा सुदृढीकरणको आवश्यकता औंल्याएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भेटमा उनले एमसीसी परियोजनालाई निरन्तरता दिने विषयले सकारात्मक गति लिने अपेक्षा गरेको बताउँदै विपत् व्यवस्थापनका क्षेत्रमा सहयोगका थप क्षेत्रहरूमा समेत आगामी दिनमा पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा अमेरिकी राजदूतावासका तर्फबाट पब्लिक अफेयर्स प्रमुख माइकल हार्करलगायतका प्रतिनिधि एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसाललगायतको उपस्थिति थियो।











प्रतिक्रिया