विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न नेपाल शिक्षक महासंघको आग्रह, ढिलाइ भए आन्दोलनको चेतावनी


काठमाडौँ।

नेपाल शिक्षक महासंघ (ने.शि.म.) राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयक २०८२ असार १५ गतेभित्र प्रतिनिधि सभाबाट पारित गर्ने सहमति कार्यान्वयन नभएको भन्दै गम्भीर असन्तोष व्यक्त गरेको छ। महासंघले विधेयकको ढिलाइप्रति चिन्ता जनाउँदै, तत्काल विधेयक संसदमा पेश गरी पारित गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ।

विगतमा भएको ८९ दिन लामो सशक्त आन्दोलन र काठमाडौं केन्द्रित २९ दिने शैक्षिक सडक आन्दोलनपछि, राज्य पक्ष र महासंघबीच २०८२ बैशाख १७ गते सहमति भएको थियो। सो सहमतिअनुसार विगतका सहमतिहरू समेटिएको विद्यालय शिक्षा विधेयक २०८२ असार १५ गतेभित्र संसदबाट पारित गरिनुपर्ने थियो। तर, अहिलेसम्म प्रतिनिधि सभामा विधेयक पेश नभएकोमा महासंघले असन्तोष प्रकट गरेको हो।

महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यो कार्यमा कुनै पनि ढिलाइ र षडयन्त्र सह्य हुने छैन। यदि तत्काल विधेयक संसदमा पेश भई पारित भएन भने महासंघ फेरि आन्दोलनमा जान बाध्य हुनेछ।”

महासंघले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई छलफल छिटो टुंग्याएर विधेयक संसदमा पेश गर्न आग्रह गर्दै, अबको अवस्था गम्भीर हुन सक्ने चेतावनीसमेत दिएको छ।

महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित सबैलाई सम्भावित परिणामप्रति सचेत रहन र समाधानका लागि सक्रिय भूमिका खेल्न अपिल गरिएको छ।