गलत कदम र अबको बाटो

1.13k
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक गलत कदम चालेर संसारमा नेपालको बदनामी कमाउने काम गरेका छन् मात्र होइन कि अझै पनि उनी यस्तै हर्कतमा लागेका देखिन्छन् । एउटा सार्वभौमसत्ता सम्पन्न देशको कार्यकारी प्रधानमन्त्रीजस्तो सम्मानित कुर्सीमा विराजमान हुने व्यक्तिले आफ्नै मातहतका निरीह कर्मचारीमाथि विनाकुनै दोष आफ्नो स्वार्थ पूर्तिका लागि डण्डा चलाउनु प्रधानमन्त्री स्वयंका लागि नसुहाउने हर्कत हो भन्दा फरक नपर्ला । आखिर आफ्नै सालो हितेन्द्रदेव पनि निरीह भएर के गरौँको अवस्थामा पुगेको कुरा उनको बोलाइको लवजभित्र लुकेको पीडाको बाछिटाले देखाउँछ । उनले उक्त पद सहजरुपमा नपाएपछि नसम्हालेको भए उपयुक्त हुने थियो ।

हाल उनी त्यही दोधारे बर्बराहटको सिकार बन्न पुगेका छन् । यो विषय केवल नेपाल र नेपाली जनतामा मात्र सीमित भएको नभएर अन्तर्राष्ट्रिय जगतले समेत गौर गरी हेरेको हुनाले विदेशमा पनि हामीले लज्जा महसुस गर्नुपर्ने अवस्था आएको छ । होला कुलमानको तुलनामा हितेन्द्रले सम्बन्धित विषयमा अलि धेरै अध्ययन र अनुसन्धान गरेका होलान् तर कुलमान घिसिङको तुलनामा हितेन्द्रले जश पाउने काम गर्न सक्ने देखिँदैन । अर्को पक्षबाट हेर्दा कुलमान जति मात्रामा स्वतन्त्र भएर काम गर्न पाउँथे हितेन्द्रले त्यति मात्रमा काम गर्न पाउँदैनन् ।

उनले दुई वा तीनतिरको प्रत्यक्ष र परोक्ष दबाबमा रहेर काम गर्नुपर्छ । आफैँ स्वतन्त्र भएर बलियो इच्छाशक्तिले गरेको काम अधिक मात्रमा सफल हुन्छ भने खराब मानसिकताका साथै कसैको दबाबमा गरिएको काम सफल नहुन सक्छ । भोलि गएर नैतिकताको धरातलको पनि नापजाँचको कुरो आउन सक्छ, त्यस बेला कुलमान र हितेन्द्रको नैतिकताको मापन गर्नेले कसलाई अधिक प्राथमिकता देलान् त ? भन्ने विषय निकै महत्वपूर्ण हुन्छ । हुन त जीउ छाडा मान्छेसँग कसैको केही जोर चल्दैन, तैपनि नैतिकताको सवालमा विश्लेषण गर्दा भने हितेन्द्रभन्दा आम नेपाली जनता मात्र नभएर अन्तर्राष्ट्रसमेतको मूल्यांकनमा कुलमान अगाडि पर्दछन् ।

प्रधानमन्त्री ओलीको दोस्रो गलत कदम भनेको गफले आकाश–पाताल छोएर ढाक्नु तर काम गर्न नसक्नु पनि कमजोर पक्ष हो । हुन त यो उनको व्यक्ति विशेषको गुण भए पनि यत्रो देश र जनताको भाग्य र भविष्यको सवालसँग जोडिएका विषयलाई बेवास्ता गरेर स्वार्थमा डुबी अगाडि बढ्न खोज्नु ओलीको सबैभन्दा खराब प्रवृत्ति हो । उनले चियागफमा भनेजति योजना सम्पन्न हुन सकेका भए अहिले हाम्रो देशका केही भागलगायत केन्द्रको राजधानी काठमाडौंसमेत रेलमार्गसँग जोडिने थियो । प्रधानमन्त्रीजस्तो व्यक्तिले बोलेको विषयवस्तुको समेत कार्यसम्पादन हुँदैन र उनको बचन खेर जान्छ भने प्रतिज्ञा गर्नुको केही तुक रहँदैन । प्रम ओली कहिल्यै पनि सर्वजनहितायको पक्षमा उभिन सक्ने अवस्थामा पुगेनन् । केवल सत्ताको स्वादमा डुबेर स्वार्थका लागि काम गर्ने मौकाको ताकमा लागेका देखिन्छन् । हालको पछिल्लो कालखण्डमा आएर ओली अझै धेरै आक्रामक बन्दै आएका पाइन्छन् ।

प्रम ओलीको अर्को गलत कदम भनेको जेठ १५ गते राजावादीहरूले गर्ने भनेको आन्दोलनको अघिल्लो दिन राजावादीहरूलाई रिङरोडभित्र पस्नै नदिने भनेर मौखिक कफ्र्यु लगाउनुका साथै राजावादीको तुलनामा आफ्नो राजनीतिक दलको शक्ति प्रदर्शन सशक्त बन्ने कुराको दाबी गरेका भए पनि एमालेको शक्ति प्रदर्शनको दौडानमा सहभागी भएका जनताका तुलनामा राजावादीका मान्छेहरू अधिक रहेको कुरा सर्वविदित नै भइसकेको थियो । जसरी कुनै एउटा घरको अभिभावकले आफ्नो परिवारका सबै सदस्यलाई समान व्यवहार नगरेर कसैलाई काखा त कसैलाई पाखा बनाउँछ भने पाखा पर्ने सदस्यहरू असन्तुष्ट हुनु स्वाभाविक नै हो ।

असन्तुष्ट रहने परिवारका सदस्यले असन्तुष्ट बनाउने जोसुकैसँग पनि आफ्ना असन्तुष्टि अभिव्यक्त गर्दा उक्त सदस्यदेखि रिसाएर गलत हर्कत गरिनु एकजना समझदार अभिभावकलाई सुहाउने विषय नै होइन । तर हाम्रा प्रम ओलीले आफूले गरेका हरेक हर्कतका विरुद्धमा बोल्दै गर्दा आफू सच्चिने त नामोनिशान नै छैन, जसले बोल्छ उसैलाई पेलेर वा जस्ता हर्कत देखाएर तहमा ल्याउन सकिन्छ भन्ने गलत सोचाइ र त्यस्तै गलत कदम उठाउनु अनि बदलाको भावनाले विरोधीलाई लखेट्ने काम गर्नु कुनै पनि मानिसको बुद्धिमानी व्यवहार वा कर्म हुँदै होइन ।

आफ्ना विरोधीलाई दबाउँदै जाँदा पहिलो विरोधी ढलेपछि पनि पुनः उठेर आउँछ र विरोध गर्न थाल्छ भन्ने कुरा हाम्रा प्रमलाई थाहै नभएको हो कि जस्तो लाग्छ । जनताको आवाजलाई दबाएर आफ्ना झोले कार्यकर्ता र भ्रष्टाचारीतन्त्रलाई काखी च्यापी काम गर्ने तरिकाको नजिर गणतान्त्रिक शासन व्यवस्थाका शासक केपी शर्मा ओलीले बसालेका हुन् भन्दा फरक पर्दैन ।

भारतले नेपालमा नाकाबन्दी लगाएर हैरान पारेको कालखण्डका नेपालका शासक पनि केपी ओली नै थिए । त्यस बेलामा उनले आम नेपाली जनताले अब भारतसँग भर परेर हुँदैन बरु हामी आफैँले अनेक विकल्प खोजेर सम्भव भएसम्मका कुरामा आत्मनिर्भर हुनुपर्छ भनेर पाठ सिकाएका थिए । नेपाली जनतालाई नाकाबन्दीले अप्ठ्यारो पारेका बेलामा स्वाभिमानको पाठ सिकाउने र हौसला बढाउन खोज्ने ओलीको मानसिकता भने कालो अँध्यारोले ढाकिएको रहेछ भन्ने कुरा त्यसपछिका उनका विभिन्न हर्कतले देखाउँदै लगेसँगै आम जनताको उनीप्रतिको विश्वास र भरोसा टुट्दै जान थाल्यो ।

जनताको उनीप्रतिको आशा र भरोसा जति मात्रामा टुट्दै जान थाल्दै छ सोही मात्रमा उनी भ्रष्टाचारको आरोप लागेका प्रतिनिधिको सहयोगमा आफूलाई निर्दोष र जनप्रिय बनाउने उद्योगमा लागेका छन् । भिजिट भिसामा मान्छे विदेश पठाएर दैनिक ५० लाख रुपियाँ असुल गरी बाँड्ने आरोप लागेका वर्तमान ओली सरकारका गृहमन्त्री रमेश लेखकलाई ओलीले राम्रैसँग काखी च्यापेका छन् । ओली स्वयं पनि गिरीबन्धु काण्डदेखि अरु धेरै काण्डमा मुछिएका भए पनि जबरजस्तरुपमा शासन सत्ताको बागडोर चलाइरहेका छन् ।

हाल आएर दैलेख जिल्लामा हामी नेपालीलाई ५० वर्ष उपभोग गर्न पुग्ने मिथेन ग्यासको भण्डार रहेको कुरा सार्वजनिक भएसँगै प्रम ओलीको जयगान गर्नेको सड्ख्या केही बढेको भए पनि उनले त्यो भण्डारको उत्खनन र उपभोग कसरी गराउलान् ? भन्ने कुरा महत्वको विषय हुनेछ । कुनै पनि खनिज सम्पदा पत्ता लगाउन र उत्खनन गर्नको लागि हामीकहाँ विदेशी विशेषज्ञ गुहार्ने चलन छ । यो चलनले हामीकहाँ भएको खनिज सम्पदाको बारेमा हामीलाई भन्दा अधिक ज्ञान विदेशीलाई हुने र कुनै कालखण्डमा हस्तक्षेप गर्नेसम्मका हर्कत पनि भएका सुनिन्छन् अनि देखिन्छन् । हामीकहाँ पनि हल्ला गर्ने जमात ठूलै भएका कारण निकै हल्ला फैलाउन सकेका छौँ । तर वास्तविकता के भने, हाम्रै जनशक्तिलाई विदेशमा त्यससम्बन्धीको विशेषज्ञता हासिल गर्नको लागि राज्यले गोप्यरुपमा पठाउनु र सोही जनशक्तिले खनिज सम्पदाको पत्तो लगाउने, उत्खनन गर्ने र उपभोगको एउटा सर्वमान्य नियम र नीति बसालेको खण्डमा हामीले कोही पनि विदेशी विशेषज्ञको भर परिरहनुपर्दैन ।

यदि नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको पालामा अहिलेको जत्तिको प्रविधिको विकास भएको हुन्थ्यो भने नेपाली जनशक्तिको उपयोगबाटै खोजी गर्नेदेखि लिएर चुस्तरुपमा उपयोग गर्नेसम्मको व्यवस्था हुने थियो होला । तर वर्तमानको ओली नेतृत्वको सरकारकै कालखण्डमा ती खनिज सम्पदा उत्खनदेखि उपभोगसम्मका चरणमा पुगेका खण्डमा नेपाली जनताले थाहै नपाई विदेशीलाई बेच्ने र आफू मस्त कमिसन खानेसम्मका हर्कत नहोलान् भन्न सकिने अवस्था छैन ।
कुनै पनि शासकलाई देशको माया भएन र लाज लाग्दो काम गर्न पनि लाज मानेन भने जनताका दिमागले सोचेको भन्दा पनि धेरै परको गद्दारीपूर्ण कर्म पनि गर्न पछि पर्ने रहेनछ भन्ने कुरा हाम्रा विभिन्न कालखण्डका शासकहरूले बेलाबेलामा देखाएका खराब हर्कतले प्रस्ट पारिरहेका छन् । भ्रष्टाचारको आरोप लागेका आफ्नै मन्त्रीलाई आफैँ न्यायाधीश बनी चोखो पानी छम्केर शुद्ध बनाउँदै काखी च्याप्ने शासक ओलीको यो अर्को गलत कदम हुनेछ ।

आफू बाँचुन्जेल एमाले पार्टीको अध्यक्ष बनिरहने चाहना राख्ने केपी शर्मा ओलीले आफूबाहेक अरु कोही अध्यक्ष बन्ने हौसलामा पुगेका भए अब १८ देखि २० वर्ष पर्खन सुझाव दिँदै थिए । सत्ता र शक्तिको यति धेरै मोहमा डुबेका शासकले जुनसुकै खालका हर्कत पनि गर्न सक्छन् भन्ने कुरा प्रस्ट हुन्छ । अर्कोतिर अभिभावक नेताले शिष्य नेतालाई योग्य बनाएर निकाल्ने हो । आफू बाँचुन्जेल त्यही पदमा टाँसिरहेपछि शिष्य कार्यकर्ताले कसरी सिक्छ र ऊ सफल राजनीतिकर्मी बन्छ ? भन्ने प्रश्न पनि सोचनीय प्रश्न हो । तथापि हाम्रो देशका नेताको चरित्र ‘आफू मरेपछि…. राजा’ भन्ने उखानसँग मिल्दोजुल्दो भएकोले यिनीहरु सत्ता र शक्तिको मोहबाट कहिल्यै पनि टाढा जान चाहँदैनन् ।

मुलुकको अवस्था दिन–प्रतिदिन नाजुक बन्दै छ । अबको राजनीतिक परिवेशमा चारैतिरबाट विश्वास गुमाउँदै गएका अनि भ्रष्टाचारीको आरोप लागेका गृहमन्त्रीलाई समेत काखी च्याप्न खोज्ने प्रधानमन्त्री केपी शर्मा ओली आफैँले पनि सत्ताबाट हटेर युवा पुस्ता र प्रस्ट दृष्टिकोण भएका युवालाई सत्ता सुम्पी आफू राजनीतिको असल अभिभावक बन्नु नै श्रेयष्कर हुनेछ । अबको बाटो पनि यही हो । आफ्ना खराब हर्कतका कारण बदनामी कमाउँदै गएका अनि आम नेपाली जनताको नजरमा समेत क्रमशः गिर्दै गएका प्रधानमन्त्री केपी ओलीलाई अबको समयले यति नै पाठ सिकाइदिए काफी हुने थियो ।

उल्लेख्य काम खासै गर्न नसके पनि नेपालका गणतान्त्रिक शासन व्यवस्थाका प्रधानमन्त्रीका रुपमा दर्ज हुन पाउनु नै प्रम ओलीका लागि महान् विषय बन्नेछ । अबका दिनमा पनि सत्ताको कुर्सीमा टाँसिएर अरु गलत हर्कत गर्दै गएको खण्डमा देशको आर्थिक अवस्था अझै कमजोर र दयनीय अवस्थामा पुग्नेछ । कुनै पनि शासन व्यवस्था आफैँमा केही पनि होइन । केवल सञ्चालक सही व्यक्ति भेटियो भने मात्रै त्यसले फल्ने र फैलने अनि फल लाग्नेसमेत बाटो पाउनेछ ।