अल नासरसँग रोनाल्डोको ‘गोल्डेन’ सम्झौता

फुटबल इतिहासमै दुर्लभ अध्याय


रियाद, (एजेन्सी)

फुटबल जगतमा पुनः एक पटक इतिहास रचिएको छ र यसको केन्द्रमा छन् क्रिस्टियानो रोनाल्डो । साउदी अरेबियाको क्लब अल नास्रसँग गरिएको नयाँ सम्झौताले न केवल उनको करियरलाई नयाँ उँचाइमा पु¥याएको छ, यो सम्झौता आफैंमा विश्व फुटबलको दुर्लभ रेकर्ड बनेको छ । यसले रोनाल्डोलाई खेलाडी मात्र होइन, विश्वकै सबैभन्दा महँगो र प्रभावशाली खेल व्यवसायिक व्यक्तित्वको रूपमा उभ्याएको छ ।

नयाँ सम्झौता अनुसार, रोनाल्डो अब २०२७ को जुन ३० सम्म अल नासरमै रहने पक्का भएको छ । यसअघि उनी म्यानचेस्टर युनाइटेडबाट अप्रत्यासित रूपमा सन् २०२३ मा साउदी क्लबमा प्रवेश गरेका हुन् ।

रोनाल्डोले अल नासरका लागि अढाई सिजनमा १ सय ११ खेलमा ९९ गोल गरिसकेका छन् । अबको दुई वर्ष उनी ४२ वर्षको उमेरसम्म पनि मैदानमा सक्रिय रहनेछन्, जुन कुरा विश्वकप २०२६ मा पनि उनी सक्रिय रहने संकेत हो ।

तर, यो सम्झौता ढल्कंदो उमेरमा रोनाल्डोले करियरलाई निरन्तरता दिने विषय मात्र रहेन । रकमको हिसाबले पनि यो खेलकुद इतिहासकै सबैभन्दा ठूलो सम्झौता बनेको छ ।

रोनाल्डोले हरेक वर्ष २ सय २२.५ मिलियन अमेरिकी डलर कमाउनेछन् । जसले उनलाई विश्वकै सबैभन्दा धेरै तलब पाउने खेलाडी बनाएको छ । साप्ताहिक तलब मात्र ४.२५ मिलियन डलर हुन आउँछ, जुन धेरैजसो क्लबको कुल तलब बजेटभन्दा पनि बढी हो ।

रोनाल्डोको यो सम्झौतामा एउटा अनौठो पक्ष पनि छ । उनले अल नास्र क्लबको १५% स्वामित्वसमेत प्राप्त गरेका छन्, जसको हालको मूल्य ४१.२५ मिलियन डलर छ । यसले उनलाई खेलाडी मात्र होइन, लगानीकर्ता र रणनीतिक साझेदार पनि बनाएको छ ।

साइनिङ बोनस, प्रदर्शन बोनस र अन्य प्रोत्साहनहरू जोड्दा सम्झौता ‘गोल्डेन डिल’ मात्र नभई एक विशाल साम्राज्य निर्माणको दस्तावेज बनेको छ ।
प्रत्येक गोलमा १ लाख डलर, हरेक असिस्टमा ५० हजार डलर, लिग जित्दा १० मिलियन डलर, गोल्डेन बुट र एएफसी च्याम्पियन्स लिग जित्दा थप लाखौं डलर बोनस छुट्टै पाउने छ ।

यति मात्रै होइन, रोनाल्डोको निजी जीवन पनि सम्झौतासँगै राजकीय शैलीमा चल्नेछ । ५ मिलियन डलरको निजी जेट खर्च, ७५ मिलियन डलरको स्पोन्सरशिप डील र सेवा दिनका लागि १६ सदस्यीय व्यक्तिगत स्टाफको व्यवस्था उपलब्ध हुनेछ ।

सिजनको अन्त्यतिर उपाधिविहीन बनेको क्लब र व्यक्तिगत असन्तुष्टिका संकेतहरू आए पनि अन्ततः अल नास्र र रोनाल्डोबीच आपसी सहमति बनेको हो । क्लबले पुराना प्रशिक्षकलाई हटाउँदै रोनाल्डोको वरिपरि नयाँ रणनीति बुनिएको छ ।

यो अबका सिजनमा ‘सीआर ७’ केन्द्रित रहने स्पष्ट संकेत हो । साँच्चिकै भन्नुपर्दा यो सम्झौता केवल फुटबल खेलको विषय मात्र नभएर व्यापार, ब्रान्ड र रणनीतिक साझेदारीको पनि मिलन भन्न सकिन्छ ।