नेपाल यू-१६ इस्ट जोनको सेमिफाइनलमा


काठमाडौं।

साविक विजेता नेपाल मलेसियामा जारी एसीसी मेन्स यु–१६ इस्ट जोन कप २०२५ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
इण्डोनेसियालाई ३ सय ७० रनको विशाल अन्तरले हराएर नेपाली टोली एक खेल अगावै अन्तिम ४ मा पुगेको हो । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानलाई हराएको थियो । नेपालले समूहको अन्तिम खेल मंगलबार भुटानसँग खेल्दैछ । इन्डोनेसिया भने यो हारले एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनु परेको छ ।

आइतबारको खेलमा नेपालले ४ सय २१ रनको विशाल लक्ष्य दिएको थियो । तर, इन्डोनेसिया ५० रनमै समेटिएको थियो । इन्डोनेसियाको ब्याटिङ धरासयी पार्न नेपालका कप्तान विपिन प्रसाद शर्माको घातक बलिङ कारक बनेको थियो । उनले १२ रन खर्चेर ६ विकेट लिएका थिए ।

त्यसअघि मलेसियामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर विशाल योगफल ४ सय २० रन बनाएको थियो । ओपनर प्रसिद्ध जैसी १ सय ३२ रनको शतकीय इनिङ खेलेका थिए । पहिलो विकेटका प्रसिद्ध र परिमार्जन यादवले ६२ बलमै १ सय ३२ रनको साझेदारी गरेर शानदार शुरुआत गराएका थिए ।

परिमार्जनले २८ बलमा ७१ रन बनाए । यसपछि तेस्रो विकेटका लागि अर्को शतकीय साझेदारी बनेपछि नेपाल विशाल योगफलतिर अग्रसर भएको थियो । प्रसिद्ध र रौनक श्रीवास्तवले १ सय ४८ रनको साझेदारी गरेका थिए । जसमा, रौनकले ८८ रनको अर्धशतकीय इनिङ खेले ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को बार्षिक कार्यतालिका अनुसार जारी प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ ।