आजको युगमा संसारले तीव्र आर्थिक विकास, श्रम सन्तुलन र मानसिक स्वास्थ्यलाई जोड दिन थालेको छ । यही सन्दर्भमा, धेरै युरोपेली मुलुक तथा अन्य विकसित राष्ट्रहरूले हप्तामा दुई दिन बिदा दिने अभ्यास सफलतापूर्वक सञ्चालन गरिरहेका छन् । यसले श्रमिकहरूको कार्यक्षमता, सन्तुष्टि र उत्पादकत्व बढाएको प्रमाणित पनि भइसकेको छ । तर नेपालजस्तो विकासोन्मुख, बहुजातीय, बहुसांस्कृतिक र धर्मनिरपेक्ष देशका सन्दर्भमा हप्ताको दुई दिन बिदा लागू गर्नु यथार्थवादीभन्दा पनि आकर्षक अवधारणा बन्दै गएको छ । र, समय–समयमा नेपालमा पनि यो पद्धति लागू गर्ने प्रयत्न नगरिएको भने होइन ।
नेपाल अझै पनि भुइँचालो, कोभिड–१९ महामारी र बढ्दो बेरोजगारीको मारबाट उठ्न संघर्ष गरिरहेको देश हो । यस्तो अवस्थामा सरकारी निकाय, वित्तीय संस्था, विद्यालय र दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूलाई साप्ताहिक दुई दिन बिदा दिने निर्णयले सेवा प्रवाहमा अवरोध मात्र होइन सम्पूर्ण देशको आर्थिक विकासमा समस्या निम्त्याउने गर्दछ ।
यसले राजस्व संकलनमा ह्रास ल्याउँछ, शिक्षा क्षेत्रको पठनपाठनको समय घटाउँछ र विकास निर्माणको गति सुस्त बनाउँछ । जब देश आर्थिकरुपमा अझै सक्षम र स्थिर भइसकेको छैन, त्यस्तो परिस्थितिमा दुईदिने बिदा लागू गर्नु शायद पूर्वाधार निर्माणका प्रयासलाई कमजोर बनाउने एउटा कारणको रुपमा देखा पर्न सक्छ ।
तर कतिपयले यसरी सप्ताहको दुई दिन कार्यालय बिदाको प्रावधानले श्रम सन्तुलन र मानसिक स्वास्थ्यलाई जोगर्ना गर्ने कुरालाई अगाडि ल्याउने गरेका छन् । हुन पनि हो, विश्वका कैयौँ देशका मानिसहरू आज मानसिक तनावले गर्दा मानसिक रोगको सिकार भइरहेका छन् ।तर नेपालको सन्दर्भ अलि फरक छ । नेपाली सामाजिक संरचना र चाडपर्वमा विविधता छ । नेपाल मात्र यस्तो देश हो, जहाँ ३६५ दिनमध्ये प्रायः हरेक हप्ता कुनै न कुनै जातीय, धार्मिक वा सांस्कृतिक पर्व मनाइन्छ । हामी दशैँ, तिहार, छठ, तीज, ईद, क्रिसमसजस्ता विभिन्न धर्म र समुदायका चाडहरू मनाउँछौं । त्यस्तै गाईजात्रा, ल्होसार, जनैपूर्णिमा, इन्द्रजात्राजस्ता सांस्कृतिक पर्वहरू हाम्रो मौलिकता हुन् । यी सबै अवसरहरूमा सार्वजनिक बिदा दिइन्छ । नेपालीहरूले आफ्ना परिवारसँग समय बिताउने, सामाजिक आत्मीयता बढाउने तथा संस्कृति संरक्षण गर्ने मौका पाउँछन् ।
यस वर्ष अर्थात् २०८२ सालको सार्वजनिक बिदाहरूको कुरा गर्दा यस वर्ष जम्मा ३५ वटा सार्वजनिक बिदा तोकिएको छ । दशैँ ६ दिन (असोज १३ देखि १८ गतेसम्म), तिहार ५ दिन (कार्तिक ३ देखि ७ गतेसम्म), अन्य राष्ट्रिय तथा सांस्कृतिक पर्वहरू– नयाँ वर्ष (वैशाख १ गते), बुद्ध जयन्ती, गणतन्त्र दिवस, संविधान दिवसका दिन बिदा दिने निर्णय भएको छ । त्यस्तै विभिन्न धार्मिक तथा जातीय समुदायका चाडपर्वहरूमा पनि सम्बन्धित समुदायलाई बिदा दिइन्छ । यसका अतिरिक्त प्रत्येक साताको शनिबार नियमित साप्ताहिक बिदाको दिन भएकाले वर्षभरिमा ५२ वटा शनिबार पर्दछन् ।
नेपाल विविधताले भरिएको हिमाली देश, जहाँ प्रत्येक दिन नयाँ चाड र सांस्कृतिक आस्था लिएर आउँछ । यहाँ बिदाहरू केवल आराम गर्ने समय मात्र होइनन्, यी त हामी नेपालीहरुको पहिचान, परम्परा र सामाजिक समरसताका प्रतीक हुन् । नेपाली बिदाहरूले हामीलाई धर्म, संस्कृति, परिवार र प्रकृतिसँग पुनः जोड्ने अवसर दिन्छन् ।नेपाल बहुजातीय, बहुधार्मिक मुलुक हो । त्यसैले हिन्दुहरूको जनैपूर्णिमा, मुस्लिमहरूको इद, इसाईहरूको क्रिसमस, बुद्ध धर्मावलम्बीहरूको बुद्ध जयन्तीजस्ता बिदाहरूले यहाँको धार्मिक सहिष्णुता देखाउँछ ।
नेपाल सरकार प्रत्येक वर्ष छुट्टै सार्वजनिक बिदा तालिका प्रकाशित गर्छ । यसमा राष्ट्रिय पर्व, ऐतिहासिक दिवस, तथा धार्मिक चाडहरूलाई समेटिन्छ । २०८२ सालमा मात्र, शनिबारसहित जम्मा ८७ दिन बिदा परेको छ ।विदेशमा प्रायः हप्ताको दुई दिन बिदा दिइन्छ तर नेपालको जस्तो वर्षभरि धेरै सांस्कृतिक छुट्टी त्यहाँ हुँदैन । उनीहरूको बिदा प्रणाली राम्रो जस्तो देखिए पनि त्यो बिदा सांस्कृतिक विविधता र आत्मीयताको अभावयुक्त हुन्छ । त्यसैले भन्न सकिन्छ कि नेपालीहरूले संवेदनशील र सन्देशमूलक चाडपर्वमार्फत मानसिक विश्रामको उत्कृष्ट अवसर पाएका छन् ।
श्रमिक स्वतन्त्रता भनेको के साँच्चै दुई दिन बिदा मात्र हो ? के नेपाली श्रमिकहरूले साँच्चै व्यक्तिगत जीवनको लागि समय पाएका छैनन् ? वा, हामीले बिदा पाउनु भनेको केवल साप्ताहिक दुई दिन बिदा नहुनु मात्रै हो ? निश्चितरूपमा होइन । हामीले बिदाको स्वरूप फरक तर गहिरो पाएका छौँ । चाडपर्वमा हामीले संयुक्त पारिवारिक समय बिताउने अवसर पाउँछौँ, धार्मिक र सांस्कृतिक भावनामा डुबुल्की मार्न पाउँछौँ र सामाजिक मेलमिलापको माध्यमबाट मानसिक स्वास्थ्य सुदृढ गर्ने अभ्यास गरिरहेका हुन्छौँ ।
यसको अर्थ हामीले विदेशीभन्दा अधिक सुसंस्कृत र बहुपरिमाणात्मक बिदा प्रणाली विकास गरेका छौँ ।
निष्कर्षमा, हप्तामा दुई दिन बिदाको अवधारणा सतहमा आकर्षक देखिए पनि नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक यथार्थसँग पूर्णरूपमा मेल खाँदैन । हप्ताको दुई दिन बिदा दिएर थप चाडपर्व र सांस्कृतिक बिदा दिने अभ्यास नेपालको लागि उपयुक्त हुँदैन । किनकि यसरी बिदा तय गर्दा झन्डै हप्ताको तीन दिन बिदा पर्न आँउछ । हप्ताको दुई दिन बिदा दिएर नेपाली चाडपर्व र सांस्कृतिक बिदालाई कटौती कुनै पनि अवस्थामा उपयुक्त हुँदैन । किनकि नेपालीको शान र परिचय यो सांस्कृतिक विविधतामा रमाउने चाडपर्वअनुसार रहेको छ । र, यसलाई हामीले संरक्षण गर्नुपर्छ । नेपालको विशेषता चाडपर्व, संस्कार र परम्परा हो, जुन विदेशी बिदा प्रणालीभन्दा धेरै गहिरो र मूल्यवान् छ । यस कारण हामीलाई अझ बढी बिदा होइन, बिदामा मूल्यको अनुभव चाहिन्छ । संस्कृति, आत्मीयता र पहिचानको संरक्षण गर्दै नेपाली बिदा प्रणालीले श्रमिक स्वतन्त्रताको अनौपचारिक तर समृद्ध मार्ग देखाइरहेको छ ।











प्रतिक्रिया