विद्याको पुनरागमनले नेतृत्वलाई चुनौती

3.01k
Shares

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्र नेतृत्वको लडाइँ खुला रूपमा सतहमा आएको छ । असार १४ अर्थात् मदन भण्डारीको जन्मजयन्तीका दिन पूर्वराष्ट्रपति तथा एमाले नेतृ विद्या भण्डारीले पार्टी राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेसँगै एमालेको आन्तरिक शक्ति सन्तुलनमा तरङ्ग आएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकछत्रता अहिले गम्भीर चुनौतीमा परेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

पछिल्ला केही वर्षयता पार्टीको सबै निकाय नियन्त्रणमा राख्नुभएका ओली आफ्नै पूर्वसहकर्मी भण्डारीको राजनीतिक पुनरागमनसँगै रणनीतिक पुनर्विचारमा पुग्नुभएको छ । विद्या भण्डारीको सक्रियता एमालेभित्र वैकल्पिक नेतृत्व निर्माणको संकेतका रूपमा देखिएको छ । केही समय चीन भ्रमणमा रहेकी भण्डारीले फर्किएपछि शनिवार मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा पार्टी राजनीतिमा औपचारिक पुनरागमनको घोषणा गर्नुभयो ।

भण्डारीले आफ्नो सम्बोधनमा भन्नुभयो– ‘म पार्टीलाई पुनः विचारशील, आदर्श आधारित र कार्यकर्ता–मुखी बनाउने उद्देश्यले फर्किएकी हुँ । पार्टी अब गुटको होइन, विचार र सिद्धान्तको होस् भन्ने मेरो चाहना हो ।’ उहाँको यो घोषणाले ओली नेतृत्वलाई असहज बनाएको स्पष्ट देखिन्छ । पार्टी नेतृत्वमा वैकल्पिक दाबी गर्ने नेताको स्पष्ट उदयसँगै संस्थापन पक्ष आत्तिएको देखिएको छ ।

मदन जयन्तीको अवसरमा आयोजित अर्को कार्यक्रममा अध्यक्ष ओलीले भण्डारीप्रति लक्षित गर्दै प्रत्यक्ष कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो– ‘जुनसुकै घडीमा देखिने र हराउनेहरूबाट पार्टी चल्दैन । नेतृत्व स्थिर, सक्षम र दूरदर्शी चाहिन्छ ।’ आफ्नो विगत भुलेर भावनामा बगेर राजनीति गर्नेहरूले पार्टीलाई अनिर्णयमा धकेल्न खोज्नु गलत हो । ओलीको यो अभिव्यक्तिलाई भण्डारीको घोषणापछि आएको प्रतिक्रिया मानिएको छ ।

गुटगत ध्रुवीकरण शुरू

ओली नेतृत्वमा विगतमा खुलेर लागेका नेताहरू अहिले भण्डारी पक्षमा खुलेरै उभिन थालेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य पद्मा अर्याललगायतका नेताहरूले भण्डारीलाई ‘विचारको अनुशरण गर्ने नेतृत्व’ भन्दै समर्थन जनाएका छन् ।

अर्कातर्फ, ओली पक्षका मुख्य रणनीतिकार विष्णु रिमाल, सुवास नेम्वाङ (पुत्र) सुहाङ नेम्वाङ र प्रदीप ज्ञवालीजस्ता नेताहरूले भने भण्डारीको अभिव्यक्तिलाई ‘भावनात्मक प्रतिक्रियात्मक आवेग’को संज्ञा दिएका छन् ।

राजनीतिक विश्लेषक डा. रामेश्वर पोखरेलका अनुसार एमालेभित्र विद्या भण्डारीको पुनरागमन नेतृत्वको वैचारिक मोर्चामा एक महत्वपूर्ण मोड हो । ‘ओलीको शक्तिकेन्द्रित कार्यशैलीप्रति असन्तुष्ट रहेकाहरूले भण्डारीमा आशा देखेका छन्,’ पोखरेल भन्नुहुन्छ– ‘यो घटनाले आगामी महाधिवेशनमा नेतृत्व प्रतिस्पर्धालाई निर्णायक मोडमा लैजाने सम्भावना छ ।’ उहाँका अनुसार ओलीले हालसालै पार्टीमा विचारभन्दा व्यक्तिकेन्द्रित नेतृत्व चलाइरहेका छन् भन्ने आरोपहरूलाई भण्डारीको उपस्थिति सशक्त विकल्पको रूपमा प्रस्तुत भएको हो ।

एमालेमा माधव नेपाल र झलनाथ खनालको बहिर्गमनपछि केही समय स्थिर देखिएको थियो । तर, त्यो स्थायित्व अब पुनः भत्किन थालेको संकेत स्पष्ट देखिन्छ । सुदूरपश्चिमदेखि कोशीसम्मका पार्टी कमिटीहरूमा भण्डारीको समर्थनमा आवाज उठ्न थालेको छ । एमालेको एक केन्द्रीय सदस्यले नाम नखुलाउने शर्तमा भने– ‘अब अध्यक्ष ओलीको गुठीय रणनीति पुरानो भइसकेको छ । कार्यकर्ताहरू परिवर्तन चाहन्छन्, विचार र मार्गदर्शन चाहन्छन् । भण्डारीको पुनरागमनले हामीलाई त्यो आशा दिएको छ ।’

अहिलेको अवस्थाले आगामी महाधिवेशनअघि नै एमालेभित्र औपचारिक नेतृत्व प्रतिस्पर्धा शुरू हुने संकेत देखिन्छ । यो प्रतिस्पर्धा केवल व्यक्तिको नभई विचार र कार्यशैलीको हुने पक्कापक्की भइसकेको छ । भण्डारीले आह्वान गरेको ‘नयाँ विचार, नयाँ दिशा’ अभियानले ओली नेतृत्वको कार्यशैलीमाथि पुनः बहस उठाएको छ ।

एमालेभित्र भण्डारीको पुनरागमन एक सामान्य घोषणामात्र होइन । यो ओली नेतृत्वको शक्तिशाली प्रत्युत्तरको रूपमा देखिएको छ । अब पार्टीले कुन बाटो अँगाल्छ, त्यो नेतृत्व, कार्यशैली र वैचारिक स्पष्टताको लडाइँले तय गर्नेछ । ओलीको ‘एकछत्रता’ र भण्डारीको ‘विचार आधारित प्रतिस्पर्धा’ अब एमालेको भाबी राजनीति र सांगठनिक स्वरूपलाई निर्धारण गर्ने मुख्य मोड बन्ने निश्चित छ ।

‘एमालेमा कुनै बम बारुद पड्किँदैन’
काठमाडौं।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न हल्ला फैलाएर एमालेलाई ध्वस्त पार्ने सपना नदेख्न चेतावनी दिनुभएको छ ।
शनिबार मदन जयन्तीको अवसर पारेर मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले त्यस्तो चेतावनी दिनुभएको हो ।

अध्यक्ष ओलीले मदन भण्डारीको जन्मजयन्तीका अवसरमा एमालेमा के के हुन्छ भनेर लेखिएका समाचारहरूप्रति असन्तुष्टि जनाउँदै एमाले विरोधीहरूले एमालेप्रति अफवाह फैलाएकाले सचेत हुनुपर्ने बताउनुभयो । ‘म आउने कार्यक्रम कसरी भाँडिन्छ, विद्या भण्डारी आउने कार्यक्रम कसरी भाँडिन्छ, के भएका हुन् ? यो मदन भण्डारीको ७४औँ जन्मजयन्तीकै समयमा उनीहरूले विभिन्न गलत खाले आसा गरेका छन्, अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु, विद्या भण्डारीले बम पड्काउनुहुन्छ । ड्याङ ड्याङ डुङ्ग हँुदै यहींबाट एमाले ध्वस्त हुन थाल्छ । यस्ता गलत सपना कसैले नदेखे हुन्छ’ –ओलीले चेतावनी दिँदै भन्नुभयो ।

उहाँले एमालेमा कुनै बम बारुद नपड्किने भन्दै नेकपा एमाले एक रहेको र एक रहने जिकिर गर्नुभयो ।