आगामी दुई दिन यी १२ जिल्लामा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध


काठमाडौं।

जल तथा मौसम विज्ञान विभागले आज साँझदेखि पर्सि असार १६ गते बिहानसम्म कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। वर्षाका कारण भूक्षय, बाढी, पहिरो, डुबान र खोला-नालामा बगाउने जोखिम रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

जोखिम रहेका क्षेत्रहरू:

– लुम्बिनी प्रदेश: बाँके, बर्दिया, दाङ
– कर्णाली प्रदेश: सुर्खेत, दैलेख, सल्यान
– सुदूरपश्चिम प्रदेश: बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुरका पहाडी भू-भागका स्थानहरू

प्राधिकरणका अनुसार भारी वर्षाका कारण साना र ठूला नदी, खोलामा पानीको सतह बढ्न सक्ने, जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

सावधानीका उपायहरू:
– अत्यावश्यक नपरी यात्रा नगर्ने
– मौसमी बुलेटिन अद्यावधिक हेर्ने
– डुबान हुनसक्ने क्षेत्रका भुइँतलामा बस्ने नागरिकले विशेष सतर्कता अपनाउने
– नदी किनारमा जान नजाने र निर्माण कार्य स्थगित गर्ने
– सुरक्षा निकाय, स्थानीय तह र स्वयंसेवक तयारी अवस्थामा रहने
– विपद् व्यवस्थापन समितिका निर्देशन पालन गर्ने

यस क्रममा सम्भावित विपद् व्यवस्थापन, पूर्वतयारी र प्रतिकार्यका लागि स्थानीय तह, सुरक्षा निकाय र सरोकारवाला निकायलाई तयारी अवस्थामा रहन अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।