शिक्षाले प्रायः हामीलाई वर्गीकृत गर्छ। कोही विज्ञानको शिखर चुमिरहेका छन्, कोही चन्द्रमामा पाइला राखिरहेका छन्, कोही कानून र मानवअधिकारका लागि लडिरहेका छन्, अनि हामीमध्ये कोही दैनिक जीवनका साना–साना सम्झौताहरूमा व्यस्त छौं। यो संसारको गति कहिल्यै थाक्दैन, जीवनको दौड कहिल्यै रोकिँदैन, र हामीलाई सिकाइएको छ– ‘सफलता पाउने हो भने दौडनैपर्छ।’
म अहिले २० वर्षकी छु। यही दौडको यात्रामा म पनि छु– नयाँ ठाउँमा, नयाँ अनुहारहरूसँग, नयाँ सपना बोकेर। अस्तव्यस्त तर आफ्नोपन बोकेको काठमाडौं छोडेर, मैले क्यालिफोर्नियाको कोलाहलमा पाइला राखेँ– जहाँ न त बुबाको हेरविचार छ, न आमा कहिल्यैजस्तो निद्रामा हात समाउँदै ढाडस दिनुहुन्छ। म मेरो सम्पूर्ण जीवन तीनवटा झोलामा बोकेर यो टाढो संसारमा आइपुगेकी छु, आशा, डर र सपना तीनै मिसिएको मन लिएर।
मेरो सानो स्कुटर यहाँ मोपेड बनेको छ, काठमाडौंको गल्लीहरू फ्रीवे भइसकेका छन्। मैले बानी परेको साना शॉर्टकटहरूलाई यहाँ ‘निकास’ भनिन्छ। जीवनका परिभाषाहरू भाषा मात्र होइन, अनुभूतिमा पनि रूपान्तरण भएका छन्। यही नयाँ परिवेशमा मैले महसुस गरेँ कि मानिसको जीवन वास्तवमै आँखा झिम्क्याउँदा–झिम्क्याउँदै उल्टो हुन सक्छ।
दौडको यथार्थ निकै अनौठो हुन्छ। जुन कुरा पहिले तपाईँको रहर थियो, समयसँगै त्यो तपाईँको पीडाको कारक बन्न सक्छ। म पनि यस्तै अनुभूतिहरू बीच बाँचिरहेकी छु। कहिलेकाहीँ लाग्छ म अन्तिम रेखा नभएको खाडलमा फसेकी छु। म दौडिरहेकी छु, थाकिरहेकी छु, तर रोकिन सक्दिनँ। किनकि म यो दौड आफैंले रोजेकी हुँ। मलाई थाहा थियो– यो सजिलो हुने छैन।
तर म भन्छु, यदि मसँग विकल्प हुन्थ्यो भने पनि म फेरि यही यात्रा रोज्थेँ। किनकि यही कठिनाइ, यही संघर्ष मेरो कथा बन्नेछ। कुनै दिन जब म पछाडि फर्केर हेर्छु, म गर्वसाथ भन्न सक्नेछु, “हो, म त्यही व्यक्ति हुँ, जसले यो दौड सजिलो थिएन भन्ने जान्दाजान्दै पनि हिम्मतका साथ सुरुवात गरिन्।”
क्यालिफोर्नियाले मलाई मानिसहरू चिनाउने चस्मा नै बदलिदिएको छ। यहाँ म ती अपरिचितहरू भेट्छु, जो मेरो आफ्नै जस्ता लाग्छन्। अनि केही आफ्ना मानिसहरू, जो यति टाढा महसुस हुन्छन्, मानौं कहिल्यै चिनेको थिएन। यो शहरले मलाई सिकाएको छ– अपनत्व भावना स्थानमा होइन, अनुभवमा बाँधिन्छ।
म यहाँ हरेक दिन जीवन नामक पुस्तकमा नयाँ अध्याय लेखिरहेकी छु। कहिले आशावादले भरिएको पाना, कहिले नमीठा यथार्थको दस्तावेज। तर लेखिरहेकी छु। किनभने म बाँचिरहेकी छु।
हरेक विद्यार्थीको जीवनमा केही उद्देश्य हुन्छ। कसैले आफ्नो परिवारका सपना बोकेर आएको छ, कसैले आफूलाई नयाँ बनाउने प्रयत्न गरिरहेको छ। म पनि आफ्नै उद्देश्यसँग बाँधिएकी छु। मेरो उद्देश्य ठूला कुरा होइनन्, तर गहिरा छन्। म लड्न चाहन्छु, हारेपछि उठ्न चाहन्छु, र जीवनले जे दिए पनि आत्मीयतासाथ अपनाउन चाहन्छु। मलाई थाहा छ, यो दौड सजिलो छैन। यो साहसिक, कहिले-काहीँ हृदयविदारक र कहिलेकाहीँ एक्लोपनले भरिएको हुन्छ।
तर मलाई विश्वास छ– अन्ततः म यसै दौडले मलाई पूर्ण बनाउँछु। सफलताको परिभाषा हरेकको लागि अलग हुन्छ, तर मलाई थाहा छ, मेरो सफलता केवल कुनै उपाधि, जागिर वा पैसामा मात्र छैन। यो यात्रा, यी अनुभव, यी आँसु र ती साना जितहरू नै मेरा सफलता हुन्।
संसारले मलाई कहाँ पुर्याउने हो, त्यो म जान्दिनँ। तर म जान्दछु– यो दौड एकदिन त्यो कथा बन्नेछ, जुन म गर्वसाथ सार्वजनिक गर्नेछु। म भन्न सक्नेछु, “मैले त्यो सहर देखेँ, जहाँ हरेक दिन अस्तित्वको लागि दौड हुन्छ। मैले त्यो शहर बुझेँ, जहाँ आत्मालाई चिन्न घाम, सागर र एकान्त आवश्यक पर्छ।”
आज म दौडिरहेकी छु। सायद थाकिरहेकी छु। तर रोकिने छैन। म दौडिरहनेछु, जबसम्म जीवनले आफैं अन्तिम रेखा कोर्छ।











प्रतिक्रिया